
भारत सरकारको सहयोगमा इरानबाट थप ३ जना नेपालीको उद्धार भएको छ । बुधबार राति दिल्ली पुगेका उनीहरू बिहीबार बुटवलतर्फ प्रस्थान गरेका छन् । बिहीबार बुटवलतर्फ लागेका तीनजनामा यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल छन् ।
अब इरानको मसाद सहरमा दुईजना र तेहरानस्थित अध्यागमनको थुनामा पाँच नेपाली छन् । भारत सरकारले व्यवस्था गरेको चार्टर उडानमा भारतीय नागरिकसँगै नेपाली आएका छन् । अपरेसन सिन्धुका नाममा भारत सरकारले इरान र इजरायलबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।
इरानमा रहेका नेपालीहरू विष्णु बन्जाडे र हरि थापा उद्धार हुन बाँकी छन् । ‘इजरायल–इरान युद्ध रोकिएको अवस्थामा अब उनीहरू आउँछन् कि आउँदैनन् भन्न सकिन्न,’ उनीहरूसँग सम्पर्कमा रहेका एक नेपाली कूटनीतिक अधिकारीले भने ।
तेहरानस्थित इजरायली अध्यागमनको थुनामा रहेका पाँचजना नेपाली नागरिक महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगी अझै जेलमुक्त भएका छैनन् । तर, स्वदेश आउन उनीहरूको कागजी बन्दोबस्त भइसकेको परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।
यसअघि मंगलबार दुई र बुधबार चारजनाको उद्धार भएको थियो । मंगलबार दिल्लीबाट हिँडेका दुईजना गणेश पोखरेल र सुमन गैरे बुटवल पुगेका छन् । बुधबार दिल्लीबाट बुटवलतर्फ लागेकामा गायत्री कार्की, उत्सव थापा, सागर पौडेल र बुद्धि भुसाल छन् ।