
सुदूरपश्चिमलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका नौवटै जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्याको साक्षरता दर ९६.१९ प्रतिशत रहेको दाबी गर्दै सुदूरपश्चिम प्रदेश सरकारले साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा धनगढीमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई साक्षर प्रदेश घोषणा गरे ।
प्रदेशका नौवटै जिल्लालाई यसअघि विभिन्न समयमा साक्षर जिल्ला घोषणा गरिसकिएको छ । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गादत्त विष्टले विगतमा सञ्चालन गरिएका साक्षरता अभियानको प्रतिफलस्वरूप वडा, पालिका हुँदै जिल्लाहरू साक्षर घोषणा भइसकेकाले प्रदेशलाई पनि साक्षर प्रदेश घोषणा गरिएको बताए ।
कुनै पनि व्यक्तिको अक्षर पढाइ, लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ, मोबाइल वा क्यालकुलेटरका अंक, अक्षरको पहिचान आदिलाई साक्षरताको आधार तोकिएको छ । लक्षित उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भए साक्षर घोषणा गर्न सकिने व्यवस्था छ ।
निर्देशक विष्टले प्रदेशका नौवटै जिल्लाको जिल्लागत साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेको बताए । सुदूरपश्चिममा दार्चुलालाई सबैभन्दा पहिले पुस ०७२ मा साक्षर घोषणा गरिएको छ । तथ्यांकअनुसार दार्चुलाको साक्षरता दर ९५.४० रहेको दाबी गरिएको थियो । निर्देशनालयको दाबीअनुसार बाजुराको साक्षरता दर प्रदेशमा सबैभन्दा बढी ९७.३१ प्रतिशत छ । बाजुरालाई असार ०७९ मा साक्षर घोषणा गरिएको थियो । बैतडीको साक्षरता दर ९६.५३, डडेल्धुराको ९८.८, बझाङको ९५.६० डोटीको ९६.५५, अछामको ९५.५५, कैलालीको ९६.२० र कञ्चनपुरको साक्षरता दर ९६.२१ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमले साक्षर प्रदेश घोषणाको सबै मापदण्ड पूरा गरेको निर्देशक विष्टले दाबी गरे । उनका अनुसार सुदूरपश्चिम साक्षर घोषणा हुने चौथो प्रदेश हो । बागमती, गण्डकी र कोशीलाई यसअघि नै साक्षर घोषणा भइसकेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरिप्रसाद निरौलाले साक्षरतालाई श्रम र रोजगारीसँग जोड्न आवश्यक रहेको बताए । ‘अब नयाँ बालबालिका निरक्षर हुन नदिन र विद्यालयबाहिर रहेकालाई विद्यालयमा ल्याउन केन्द्रित भएर लाग्नुपर्छ,’ सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल पोखरेलले भने । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साक्षर घोषणा ठुलो उपलब्धि भएको दाबी गरे । उनले शिक्षामा प्रदेश सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिए । शिक्षा क्षेत्रको विकास तथा साक्षरतासँगै सक्षमता र अवसरलाई जोडेर लैजान सरकार लागिपरेको उनले बताए ।
सुदूरपश्चिमलाई साक्षर घोषणा गरिए पनि साक्षरतासम्बन्धी तथ्यांकमा भने सरोकारवालाले प्रश्न उठाउने गरेका छन् । यहाँको शैक्षिक विकासको अवस्था कमजोर छ । विद्यालयबाहिर रहेका बालबालिकाको संख्या ठुलो छ ।