
एक राजा प्रजापालक थिए । उनी जहिल्यै आफ्ना नागरिकको सुख, सुविधा र प्रगतिका लागि समर्पित भइरहन्थे । उनलाई आफ्नो सुख, सुविधाभन्दा पनि नागरिकका सुख, सुविधाको चिन्ता हुन्थ्यो । उनी जतिखेर पनि नागरिककै सेवामा लागिरहन्थे । जसले गर्दा उनले ईश्वरको पूजाआजा र भजनकीर्तनका लागि समेत समय निकाल्न सक्दैनथे ।
एक बिहान राजा कतै जाँदै थिए । उनले हातमा मोटो पुस्तक बोकेका एक देवदूतलाई भेटे । देवदूतलाई राजाले सोधे– यो किताबमा के छ ? देवदूतले भने– महाराज यो हाम्रो बहिखाता हो । यसमा ईश्वरको भजन गर्ने व्यक्तिहरूको नाम लेखिएको छ । राजाले निराशायुक्त भावमा सोधे– मेरो नाम त यसमा कतै छैन होला, तैपनि यसो हेरिदिनुहोस् न प्रभु ! देवदूतले किताबका सबै पाना पल्टाए । साँच्चै त्यहाँ राजाको नाम कहीँकतै थिएन । आफूले ईश्वरको भजनकीर्तनका लागि अलिकति पनि समय निकाल्न नसकेकामा राजा खिन्न भए । उनी देवदूतसित बिदा भएर जनसेवामा निस्किए । केही दिनपछि राजा पहिलेजस्तै गरी जनसेवाका लागि कतै जाँदै थिए । बाटामा तिनै देवदूतसित भेट भयो । यसपटक देवदूतको हातमा पहिलेको भन्दा भिन्न साजसज्जाको अलि सानो पुस्तक थियो । राजाले उत्सुकतावश पुन: देवदूतलाई सोधे– प्रभु, आज यो कुनचाहिँ बहिखाता लिएर आउनुभयो ? देवदूतले भने– महाराज, यसमा ईश्वरका लागि जो–जो सबैभन्दा प्रिय छन्, तिनका नाम छन् ।
राजाले खिन्न मनले भने– प्रभु, यसमा मेरो नाम त पक्कै छैन । तर, के मेरो राज्यका कोही कसैको नाम छ त ? देवदूतले बहिखाताका पाना पल्टाउन सुरु गरे । राजा पनि नजिकै बसेर किताबतिर हेर्न थाले । पहिलो पानाको पहिलो नम्बरमै आफ्नो नाम देखेर राजा छक्क परे । उनले देवदूतलाई प्रश्न गरे– प्रभु ! यो सब कसरी सम्भव भयो ? म त मन्दिर पनि कहिलेकाहीँ मात्र जान्छु । भगवान्को भजनकीर्तन त गर्नै भ्याउन्नँ ।
देवदूतले भने– महाराज ! जसले समाजको निष्काम सेवा गर्छ, जसले परोपकारमा आफ्नो जीवन समर्पित गर्छ, ऊ नै ईश्वरको सबैभन्दा प्रिय हुन्छ । र, सबैभन्दा ठुलो पुण्यको काम पनि त्यही हो ।