१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार १४:५५:oo
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

व्यावसायिक तरकारी खेतीमा जुम्लाका युवा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १४:५५:oo

जुम्लाको तातोपानी गाउँपालिका– १, जर्मी गाउँकी भगवती रावलले व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन्। तरकारी खेतीबाट राम्रो आम्दानी हुने बुझेपछि उनले व्यावसायिक खेतीमा नै जोड दिन थालेकी हुन्। तातोपानी धाराको पर्यटकीय क्षेत्रमा उनको होटेल व्यवसाय पनि छ। होटेलमा तरकारी धेरै आवश्यक पर्छ। होटेलमा दैनिक दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको तरकारी आवश्यक पर्छ। होटेलका लागि सधैँ बाहिरबाट तरकारी खरिद गर्नुभन्दा व्यावसायिक खेती गर्दा फाइदा हुने देखेपछि आफैँले तरकारी खेती गर्न थालेकी हुन्।

भगवतीले डेढ रोपनी जमिनमा मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरेकी छिन्। उनको होटेल व्यवसायका लागि आफ्नै बारीको तरकारी नपुगेर अरू छिमेकीसँग पनि तरकारी खरिद गर्ने गरेकी छिन्। तरकारी खेती र होटेल व्यवसायबाट सहज रूपमा घरखर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा दिन पनि सकेको उनको भनाइ छ।


सोही गाउँकी गंगालक्ष्मी बुढाले पनि व्यावसायिक तरकारी खेती गरेकी छिन्। उनको तीन छोराछोरीसहित ६ जनाको परिवार छ। उनी तरकारी खेती गर्छिन् भने उनका श्रीमान् अन्य कामकाजसहित तरकारी खेतीमा पनि सघाउने गर्छन्। गंगालक्ष्मीले एक रोपनी जमिनमा तरकारी खेती गरेकी छिन्। तरकारी खेती गर्नुभन्दा अघि त्यो जमिनमा उनले वर्षमा दुई बाली जौ र धान रोप्ने गरेकी थिइन्। त्यो खेतीले त्यति राम्रो आम्दानी दिने गरेको थिएन। तर, तरकारी खेती गर्न थालेपछि खल्तीमा कहिले पनि पैसा खाली नभएको अनुभव उनले सुनाइन्। यसैबाट उनले घरखर्च चलाउने गरेकी छिन्।

यस्तै, माया बुढा पनि तरकारी खेतीसँगै भैँसीपालनमा हिजोआज व्यस्त छिन्। उनले तीन वर्षयतादेखि तरकारी खेती र भैँसीपालन गर्दै आएकी छिन्। उनले यो वर्षदेखि थप व्यावसायिक र आधुनिक तवरले नै तरकारी खेती र भैँसीपालन गरिरहेकी छिन्। विगतमा आफूलाई चाहिँदो मात्रै तरकारी लगाउने गरेकी मायाले यस वर्षदेखि ताजा तरकारी बजारसम्म पुर्‍याउन थालेकी छिन्। स्थानीय बजारमा तरकारीको माग बढ्न थालेपछि तरकारी फलाउन थालेकी हुन्। तरकारीबाटै आम्दानी गरेर घर परिवारसँग पैसा माग्नु नपरोस् भन्ने उनको सोच छ। ‘गाईभैंसीको पिसाब संकलन गरेर जैविक विषादी बनाएर तरकारी खेतीमा प्रयोग गर्ने गरेका छौँ। यसले जमिन उर्वर बनाएर तरकारी पनि राम्रो उत्पादन हुने गरेको छ,’ उनले भनिन्। बजारमा अर्गानिक तरकारीको माग राम्रो भएकाले रासायनिक मल र विषादी प्रयोग नगरेको उनले सुनाइन्।

चन्दननाथ नगरपालिका– १, तलिचौरकी धनलक्ष्मी भण्डारी थापाको पनि व्यावसायिक तरकारी खेती छ। उनले पनि तरकारी खेतीबाट राम्रो आम्दानी लिने गरेकी छिन्। तरकारी खेती गर्दा अहिले घरखर्च चलाउन निकै सहज भएको उनको अनुभव छ। उनले भनिन्, ‘अहिले तरकारी खेतीबाट स्वरोजगार बनेका छौँ। पैसाका लागि श्रीमानसँग हात थाप्नुपरेको छैन। आफ्नो खल्तीबाट पैसा निकालेर आवश्यक खर्च चलाउने भएका छौँ।’ 

‘धान, गहुँभन्दा तरकारी खेतीबाट राम्रो फाइदा हुने भएकाले यसमा जोड दिएकी हुँ। तरकारी खेतीमा मिहिनेत भने बढी चाहिन्छ। अहिले मैले बाह्रमास तरकारी खेती गर्छु,’ उनले भनिन्, ‘आम्दानी पनि राम्रै हुन्छ, बिउबिजन, मलखादलगायतको खर्च कटाएर वार्षिक तीन लाखसम्म बचत हुन्छ।’ उत्पादित अधिकांश तरकारी जिल्लामै खपत हुने गरेको छ। यस अलावा किसानले सुर्खेत, नेपालगज्जसम्म पनि तरकारी पठाउने गरेका छन्। ‘परिवार, छोराछोरीको पढाइलेखाइ, घरखर्च यसैबाट चल्छ। मेरो आम्दानीको स्रोत भनेको यही हो, यसबाट म सन्तुष्ट छु,’ उनले भनिन्। 

उनीहरू जस्तै तातोपानी गाउँपालिका– १, जर्मी गाउँका २८ जना किसानले एउटै प्लटमा सामूहिक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन्। तरकारी खेतीबाट प्रत्यक्ष रूपमा नगद आम्दानी हुन थालेपछि जौ, धान रोप्ने खेतबारीमा व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका हुन्। यस्तै, चन्दननाथ नगरपालिका तलिचौर गाउँका २२ जना किसानले पनि एकै प्लटमा सामूहिक खेती गर्दै आएका छन्। किसानले आलु, प्याज, गोलभेंडा, बन्दा, काउली, साग, धनियाँ, मुला, गाँजर, भन्टा, फर्सी, काँक्रो, खुर्सानीलगायतका तरकारी खेती गरिरहेका छन्।

जुम्लादेखि छिमेकी मुलुक भारत जानेको त हिसाब नै छैन। यहाँबाट वैदेशिक रोजगारीका लागि तेस्रो खाडी मुलुक, युरोपतिर जानेको संख्या दिन प्रतिदिन बढ्दो छ। युवाहरू आफ्नो गाउँघर छोडेर बिदेसिएका वेला उनीहरू भने धेरैजसो समय तरकारी खेतीमा व्यस्त छन्। नर्वे सरकार र युएनडिपीको आर्थिक सहयोगमा पेस नेपाल जुम्लाले ‘कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजना सञ्चालन गरेको छ। सोही परियोजनाअन्तर्गत तरकारी उत्पादन पकेट क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गरिएको हो।

कृषक पाठशाला, जैविक खेती, थोपा सिँचाइ, प्लास्टिक टनेल, गोठ सुधार, झोलमल र जैविक विषादी निर्माणलगायतका गतिविधिमा दाताले सहयोग गरेका छन्। तातोपानी गाउँपालिका– २, जर्मीगाउँका २८ जना र चन्दननाथ नगरपालिका– १ तलिचौरका २२ जना गरी ५० जना युवा किसानलाई व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनाउन हार्डवेयर तथा सफ्टवेयरका क्षेत्रमा गरी ६४ लाख २५ हजार लगानी भएको छ।

पोषण तथा खाद्य सुधारका लागि प्रवर्द्धन गर्न जलवायुमैत्री कृषि प्रविधिहरू प्लास्टिक टनेल, थोपा सिँचाइ प्रविधि सेट, झोलमल उत्पादन, ड्रमसेट, हजारी, गोठ सुधारका लागि म्याट, पाइप, टनेल, पहेँलो स्टिकी ट्याप, टेको दिने डोरी, उन्नत बिउ किसानलाई सहयोग गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए। मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नका लागि खेतीयोग्य क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गरिएको कृषि विकास कार्यालय जुम्लाका अधिकृत लक्षिराम महतले बताए।

चन्दननाथ नगरपालिका– १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले कृषकहरूले तरकारी खेतीतर्फ बढी चासो राख्दै आएका बताए। उनले भने, ‘तरकारी उत्पादनमा वृद्धि हुनुका साथै स्थानीयले राम्रो आम्दानी पनि गरेका छन्। आयातित तरकारीभन्दा स्थानीयस्तरमै उत्पादन भएको विषादीरहित तरकारी खानु राम्रो हो। स्थानीय स्तरमा तरकारी खपत नभए पनि बाहिर जिल्लाका बजारमा पठाउन सकिन्छ। माग पनि भइरहेको छ।’ जेठ अन्तिम हप्ता तलिचौरका किसानले १० क्विन्टल फर्सी सुर्खेत पठाएका छन्। तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले परियोजनाले किसानलाई प्रविधि, ज्ञान, सिप सिकाएर व्यावसायिक बनाएको बताए।