2025-06-26-01-22-01.jpeg)
मानभी फाउन्डेसनले क्यानडामा बसोबास गर्ने नेपाली समुदायका लागि ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ को घोषणा गरेको छ। यो कार्यक्रम विशेष रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी, युवाहरू तथा क्यानडामा बस्ने सबै नेपालीलाई सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न प्लाटफर्म प्रदान गर्न तयार गरिएको हो।
मानभी स्टुडियोज स्थापना गरेको एक वर्ष सफलतापूर्वक पूरा गरेपछि मानभी फाउन्डेसन नामक संस्था सुरु भएको हो र यसले यो उत्सवमा प्रतिभाहरूले निःशुल्क दर्ता गरी सहभागिता जनाउन सक्ने अवसर प्रदान गरेको छ। क्यानडामा नेपालीहरूको संख्या बढ्दै गएसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। जहाँ यो कार्यक्रमले एउटा नयाँ आयाम ल्याउने विश्वास गरिएको छ।
कार्यक्रममा नृत्य, गायन, फोटोग्राफी, भिडियो बनाउने, कविता, कला, संगीतलगायत विभिन्न विधामा रुचि राख्ने नेपालीले अनलाइनमार्फत सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धाको मूल्यांकन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायकहरूले भर्चुअल रूपमा गर्नेछन्, जसले प्रतियोगितालाई अझ अन्तर्राष्ट्रिय बनाउनेछ।
कार्यक्रमको ग्रान्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना गरिनेछ, जहाँ प्रतिभाहरूले आफूलाई मञ्चमा प्रस्तुत गर्ने मौका पाउनेछन्। यो केवल प्रतिस्पर्धा मात्र नभई, सांस्कृतिक एकता, प्रतिभा अभिव्यक्ति र नयाँ सञ्जाल निर्माण गर्ने एक सुनौलो अवसर हो। मानभी फाउन्डेसनले सबै नेपालीहरूलाई आ–आफ्नो कला प्रस्तुत गर्न र अन्य सिर्जनात्मक व्यक्तिहरूसँग भेटघाट गर्न आग्रह गरेको छ।