१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
Invalid date format ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्वार्काे चोकसँगै अध्ययन भएका सातदोबाटो र एकान्तकुना फ्लाई ओभर निर्माण अन्योलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५७:oo
  • ग्वार्कोमा मात्रै फ्लाई ओभर तयार हुँदा ट्राफिक चाप कोटेश्वर र सातदोबाटोमा सर्ने आकलन
  • ग्वार्कोको अनुभवबाट दुई स्थानमा फ्लाई ओभर निर्माण थाल्ने सडक विभागको दाबी, अर्थसँग चाँडै बजेट माग गरिने

शुक्रबारदेखि ललितपुरको ग्वार्काेमा ‘फ्लाई ओभर’ सञ्चालनमा आइसकेको छ । तर, ग्वार्कोसँगै अध्ययन भएको सातदोबाटो र एकान्तकुना चोकको फ्लाई ओभर निर्माण भने अन्योलमा छ ।

चक्रपथमा हुने ट्राफिक चापलाई कम गर्न इन्जिनियरिङ प्रोक्युअमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडेलमा निर्माण हुने गरी सडक विभागले आर्थिक वर्ष ०७६/७७ मा तीनै ठाउँमा फ्लाई ओभर बनाउने गरी अध्ययन गरेको थियो । तर, सातदोबाटो र एकान्तकुना चोकको अध्ययन कागजमा सीमित भएको छ । सडक विभागका अनुसार दुवै ठाउँमा फ्लाई ओभर बनाउन कुनै प्रक्रिया नै अघि बढेको छैन । आव ०८०/८१ को बजेटमा सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर बनाउन गरिएको घोषणा पनि कार्यान्वयन भएको छैन । सडक विभागले ०७९ मा बहुवर्षीय आयोजनाअन्तर्गत तीनवटा फ्लाई ओभर बनाउन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । तर, त्यसवेला अर्थ मन्त्रालयले यसका लागि स्रोत सहमति दिएन । त्यसपछि विभागले स्रोत सहमतिका लागि पुन: प्रस्ताव पठाएको पनि छैन ।

कोटेश्वरमा जापानको सहयोगमा फ्लाई ओभर र सुरुङमार्ग बनाउने प्रस्ताव भए पनि देखिने गरी प्रगति भएको छैन । तर, सातदोबटो र एकान्तकुनामा फ्लाई ओभर बनाउने प्रक्रिया नै अघि बढेको छैन । सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर निर्माण नौ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, उक्त रकम ग्वार्काे फ्लाई ओभरका लागि मात्रै भएको सडक विभागका निर्देशक दीप बाराहीले बताए । 

ग्वार्को चोकको ट्राफिक जाम कोटेश्वर र सातदोबाटोमा सर्दै
ग्वार्काेमा फ्लाई ओभर सञ्चालनमा आएसँगै त्यहाँको ट्राफिक व्यवस्थापन सहज हुनेछ । तर, अब त्यसको चाप सातदोबाटो, एकान्तकुना र कोटेश्वरमा पर्ने आकलन गरिएको छ । परम्परागत डिजाइनमै सडक बनेका कोटेश्वर, एकान्तकुना र सातदोबाटो चोकमा भने ट्राफिक चाप पहिलेदेखि नै उच्च छ । अब त्यहाँ थप ट्राफिक चाप पर्ने सडक विभागका अधिकारीहरू बताउँछन् ।

‘समग्र सडक सञ्जाल राम्रो हुनुपर्छ, एक ठाउँमा मात्रै राम्रो भएर हँुदैन । अब गाडीलाई ग्वार्काे चोकमा जाममा बस्नुपरेन । त्यो भएपछि उनीहरू अब छिट्टै कोटेश्वर र सातदोबाटो पुग्न सक्छन् । त्यहाँ भने पहिलेदेखि नै ट्राफिक चाप उच्च छ,’ विभागका एक अधिकारीले भने, ‘त्यहाँ त्यो चाप थेग्न सक्ने सडक पूर्वाधार अहिले छैन । ग्वार्काेमा फ्लाई ओभर बन्नु गलत होइन । तर, अन्य ठाउँमा पनि आधुनिक पूर्वाधार समयमै बनाउन जोड दिइयो भने मात्र समग्र ट्राफिक चाप कम गर्न सकिन्छ ।’

दुई स्थानमा फ्लाई ओभर राख्न बल्ल छलफलको तयारी
सडक विभागका निर्देशक दीप बाराहीले सातदोबाटो र एकान्तकुनामा दुईवटा फ्लाई ओभरको निर्माणबारे छलफल गरेर अघि बढ्ने तयारी भइरहेको बताए । ‘ग्वार्काे फ्लाई ओभरको निर्माणका क्रममा विभिन्न समस्या तथा चुनौती सामना गर्नुपर्‍यो । एकान्तकुना र सातदोबाटो फ्लाई निर्माणका क्रममा त्यस्तो समस्या नआओस् भनेर हतार नगरेका हौँ,’ उनले भने, ‘अर्कातिर, अर्थ मन्त्रालयले पनि स्रोत सहमति नदिएको अवस्था थियो ।’ ग्वार्को फ्लाई ओभर निर्माणको अनुभवबाट सातदोबाटो र एकान्तकुनामा निर्माण सुरु भएपछि समयमै काम सक्ने गरी योजना बनाइने उनले बताए । दुवै परियोजनाको डिपिआर तयार भएकाले निर्माणको मोडालिटी टुंग्याउन मात्रै बाँकी रहेको उनले जानकारी दिए । 

ग्वार्को फ्लाई ओभर आरसी, समानान्तर र रेलिगेयर तीन कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् । २३ पुस ०७९ बाट निर्माण सुरु हुनासाथ डिजाइनमा समस्या देखिएपछि एक महिनामै काम रोकिएको थियो ।