१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार o८:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

न्यु डाइमन्डले जित्यो महिला भलिबल उपाधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o८:o१:oo

न्यु डाइमन्ड क्लबले नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडाको हुप्रचारको कोर्टमा बुधबार भएको उपाधि भिडन्तमा न्यु डाइमन्डले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । यसअघि समूह चरणमा पनि यी दुई टोलीबिच प्रतिस्पर्धा भएको छ । जसमा न्यु डायमन्डले एपिएफलाई हराएको थियो । 

उत्कृष्ट फर्ममा रहेको न्यु डाइमन्डले फाइनलमा एपिएफलाई चल्न दिएन । न्यु डायमन्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ को सेटमा पाखा लगायो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँ पाएका छन् । प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा हरायो । 

उपाधि भिडन्तमा पहिलो सेटमा कमजोर प्रदर्शन गरेको एपिएफले दोस्रोे सेटमा पुनरागमनको प्रयास गरेको थियो । एपिएफ र न्यु डाइमन्डले आलैपालो गरी अग्रता लिएका थिए । दोस्रो सेटमा दुवै टोली २३–२३ को बराबरीमा पुगे । न्यु डाइमन्डले एपिएफको सामान्य गल्तीको फाइदा लिँदै २५–२३ ले बाजी मार्दै सेटमा २–० को अग्रता लियो । तेस्रो सेट लगभग एकपक्षीय भयो । न्यु डाइमन्डको लगातारको दबाब एपिएफले झेल्न सकेन । तेस्रो भएको पुलिसले एक लाख र चौथो गण्डकीले ५१ हजार रुपैयाँ पाए । 

न्यु डाइमन्डकी सुमित्रा सर्वोत्कृष्ट खेलाडी
न्यु डाइमन्डले उपाधि जित्दा सुमित्रा रेग्मीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले समूह चरणदेखि टोलीको जितमा महत्वपूर्ण योगदान दिइन् । यसकारण उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर र च्याम्पियन टोलीकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए । उपविजेता एपिएफकी गरिमा बोहरा उत्कृष्ट ब्लकर र निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर भएका छन् । प्रतियोगितामा पुलिसकी कोपिला राना उत्कृष्ट सर्भर र गण्डकीकी रिक्जना भोटे उदयीमान खेलाडी भएको आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे । 

नेपाल स्पोर्टस् क्लब (नेकोस)को आयोजनामा भएको प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र पुलिससँगै न्यु डायमन्ड क्लब, गण्डकी, बागमती र मधेश प्रदेश गरी ६ वटा टोलीको सहभागिता थियो ।