
भारत सरकारको सहयोगमा इरानबाट बुधबार थप चार नेपालीको उद्धार भएको छ । मंगलबार इरानको मसाद सहरबाट दुईजनाको उद्धार भएको थियो । दिल्लीस्थित नेपाली दूतावासका अनुसार बुधबार गायत्री कार्की, उत्सव थापा, सागर पौडेल र बुद्धि भुसाल दिल्ली आइपुगेका हुन् ।
भारत सरकारले व्यवस्था गरेको चार्टर उडानमा २९६ जना भारतीय नागरिकसँगै चारजना नेपाली आएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले जानकारी दिएका छन् । अपरेसन सिन्धुका नाममा भारत सरकारले इरान र इजरायलबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।
मंगलबार दिल्लीबाट हिँडेका दुईजना गणेशप्रसाद पोखरेल र सुमन गैरे बुटवल आइपुगेका छन् । अब इरानको मसाद सहरमा पाँच र तेहरानस्थित अध्यागमनको थुनामा पाँचजना नेपाली उद्धारको पर्खाइमा छन् । इरानको मसाद सहरबाट उद्धारका लागि विष्णुप्रसाद भुसाल, विष्णु बन्जाडे, राजु खनाल, यज्ञ मरासिनी र हरि थापा पर्खाइमा छन् ।
भारतीय जहाजले उनीहरूलाई पनि क्रमश: उद्धार गर्नेछ । तेहरानस्थित इजरायली अध्यागमनको थुनामा रहेका पाँचजना नेपाली नागरिक महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगी पनि उद्धारको पर्खाइमा छन् । उनीहरूको कागजी बन्दोबस्त भइसकेको परराष्ट्रका अधिकारीले बताएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा नेपाली दूतावासको विद्युतीय फारममा बुधबारसम्म करिब ११ सय नेपालीले नाम दर्ता गरेका छन् । परराष्ट्रले इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियम पालना गरेर सुरक्षित रूपमा रहन अनुरोध गरेको छ ।
घर आइपुगेपछि गणेशप्रसाद पोखरेल भन्छन्–द्वन्द्व हटेपछि फेरि फर्किने सोचमा छु
रोजगारीका सिलसिलामा इरान जान थालेको १६ वर्ष भयो । प्राइभेट कम्पनीमा काम गर्छु । जाने–आउने गरिरहन्छु । साढे दुई महिनाअघि मात्रै घरबाट फर्केको थिएँ । यसबिचमा तीन महिनाको बिदा पनि पाएको थिएँ, तर घर आइनँ, टिकट क्यान्सिल भयो । पछि द्वन्द्व चर्किंदै जाँदा र घरपरिवारसँगको सल्लाहअनुसार घर फर्केको हुँ । इरानमा हामी बसेको क्षेत्रमा द्वन्द्वको खासै असर थिएन । हामीले टेलिभिजनमा देख्ने समाचारमा लडाइँ चर्केको खबर हेर्ने गर्थ्यौँ, तर हामी बसेको ठाउँमा त्यस्तो केही देखिँदैनथ्यो । द्वन्द्वको खबरले घरपरिवारमा पनि चिन्ता थपिँदै गएको पाएँ । घरपरिवार, नानीबाबु आत्तिएको अनुभूति भयो । श्रीमतीले पछि ठिक भए जानुहोला, अहिले आइहाल्नु भनेपछि घर फर्कने निष्कर्षमा पुगेँ । घर फर्कन चाहनेलाई नेपाल सरकार, दूतावास तथा भारतीय दूतावासले राम्रो सहयोग गर्यो । द्वन्द्व हटेपछि सहज वातावरण बनेपछि पुन: फर्किने सोचमा छु ।