
रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
मंगलबार नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको छ।
बजेटमा आयको अनुमान तथा स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान, पुँजीगततर्फ ४३ करोड ४१ लाख, नगर विकास कोषबाट ऋण ७ करोड ३८ लाख, सडक बोर्डतर्फ १ करोड, लुम्बिनी प्रदेशबाट प्राप्त समानीकरण, ससर्त, राजस्व बाँडफाँट र समपूरक गरी ४ करोड ८९ लाख ७४ हजार, संघीय सरकारबाट प्राप्त ससर्त, सामाजिक सुरक्षा, समपूरक, समानीकरण राजस्व बाँडफाँट गरी ८५ करोड ३२ लाख ८० हजार रहेको छ।
त्यस्तै, आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ हजार रकम उठाउने लक्ष्य राखिएको छ।नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख गुरुङले संविधान, नीति तथा योजना, स्थानीय आवश्यकता, जनअपेक्षा, समावेशी अभ्यास र दिगो विकासका लक्ष्यलाई मार्गदर्शकका रूपमा लिँदै बजेट निर्माण गरिएको बताइन्।