
बाख्रा चराउन जंगल गएकी लिखु तामाकोशी गाउँपालिका– २, सैपुकी ५८ वर्षीया लिङमा तामाङ पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छिन्।
घरनजिकैको जंगलमा हिजो दिउँसो बाख्रा चराउन गएकी तामाङ बसिरहेको स्थानमाथिबाट अकस्मात् पहिरो आई उनलाई बसेको ठाउँमै पुरेको थियो। बाख्रा चराउन गएका अन्य गोठालाहरूले तामाङलाई पहिरोले पुरेको देखेपछि तत्काल घटनास्थलबाट उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । घाइते तामाङको ढाड र हातमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय धोबीडाँडाले जनाएको छ ।