१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format o९:५o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाले गर्‍यो इरानका तीन परमाणु केन्द्रमा आक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा बम आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य परमाणु केन्द्र फोर्दो, नतान्ज र इस्फहानमा हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । अमेरिकी आक्रमणले परमाणु केन्द्रहरूमा कति क्षति पुर्‍याएको छ भन्ने अझै स्पष्ट भएको छैन ।

तथापि, आक्रमणपछि तीनवटै आणविक केन्द्र ‘ध्वस्त’ भएको ट्रम्पले दाबी गरेका छन् तर, इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ । आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ । अमेरिकी हमलाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने विश्लेषकले बताएका छन् । आक्रमणले मध्यपूर्वमा तनाव सिर्जना गरेको छ र इरानको आणविक कार्यक्रमलाई कडा धक्का दिएको छ । 

इरानी आणविक केन्द्रहरूमा बी–२ स्टेल्थ बमवर्षकले ‘बंकर बस्टर बम’ र क्रुज मिसाइल प्रयोग गरेर आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा आक्रमणपछि ‘सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेको’ बताएका छन् । आक्रमणले वासिंटनलाई तेहरानसँगको इजरायलको युद्धमा सामेल गराएको छ र मध्यपूर्वका लागि यो एक महत्वपूर्ण क्षण बनेको छ । ह्वाइट हाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले इरानले चाँडै शान्ति कायम नगरे संयुक्त राज्य अमेरिकाले थप आक्रमण गर्ने चेतावनी दिए । हस्तक्षेपले द्वन्द्वलाई नाटकीय रूपमा फराकिलो बनाउने खतरा निम्त्याएको छ । 

 अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : इरान
इरानले अमेरिकी आक्रमणलाई गैरकानुनी र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले आक्रमणको निन्दा गर्दै इरानलाई आफ्नो देशको सार्वभौमसत्ताको रक्षा गर्ने अधिकार रहेको बताए । अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई धोका दिएको आरोप लगाउँदै अमेरिकाले ‘दीर्घकालीन परिणाम’ भोग्नुपर्ने चेतावनी दिए ।

इरानले आफ्ना नागरिकको सम्प्रभुता र हितका लागि उचित विकल्प अपनाउने उनले चेतावनी दिए । इरानको परमाणु ऊर्जा संस्था आइओआईले पनि परमाणु क्षेत्रमा गरिएको अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ । अमेरिकाले परमाणु अप्रसार सन्धिको उल्लंघन गरेको तेहरानको भनाइ छ ।

इरानको राष्ट्रिय प्रसारक संस्थाका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि तीनवटै परमाणु केन्द्रहरू खाली गराएको बताए । तेहरानले अमेरिकी आक्रमणपछि ‘प्रदूषणको कुनै संकेत नभएको’ र साउदी नियामकले खाडी क्षेत्रमा कुनै रेडियोधर्मी प्रभाव फेला नपरेको बताएको छ । इरानी मिडियाले फोर्दो प्लान्टको केही भाग र इस्फहान र नातान्ज आणविक स्थलहरूमा आक्रमण भएको पुष्टि गरेका छन् ।