
ललितपुर महानगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । महानगरले भोलि (मंगलबार) बजेट ल्याउने तयारी पनि गरेको छ । महानगरको चालू आर्थिक वर्ष ०८१/८२ को बजेट खर्च भने निराशाजनक छ । महानगरले कुल सात अर्ब ४६ करोड ८३ लाख बजेट ल्याएको थियो । तर, हालसम्म पुँजीगततर्फ ४८.२३ र चालूतर्फ ७८ प्रतिशत बजेट खर्च भएको महानगरको राजस्व महाशाखाले जनाएको छ । महानगरका मेयर चिरिबाबु महर्जनले खरिद ऐनका कारण विकास निर्माणसम्बन्धीको कामले गति लिन नसकिरहेको बताउँदै पुँजीगत खर्चमा पनि त्यसको असर परेको बताए ।
ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा तीन अर्ब ५५ करोड ९६ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, जेठ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व उठेको छ । हालसम्म ५७ प्रतिशत मात्रै बजेट खर्च भएको महानगरपालिकाका प्रवक्ता राजुु महर्जनले जानकारी दिए । ‘चालू आर्थिक वर्षमा हामीले लक्ष्यअनुसार राजस्व संकलन गर्न अलि सकेनौँ, किनभने नक्सापास र अखिलेखीकरणमा समस्या थियो, अब आगामी वर्ष लक्ष्यअनुसारको राजस्व उठाउँछौँ,’ उनले भने, ‘आगामी वर्ष पनि चालू आवकै आकारमा बजेट ल्याउँदै छौँ ।’
काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट अनिश्चित बनेको छ । महानगर प्रवक्ता नवीन मानन्धरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट अन्योलकै अवस्थामा रहेको बताए । ‘अलि–अलि कुरो मिल्लाजस्तो त छ, तर नयाँ नीति तथा कार्यक्रम र बजेटको पुग्दो तयारी हुन सकेको छैन,’ उनले भने, ‘वडाध्यक्ष एकातिर मेयरसाब अर्कातिर भएर पनि यस्तो भएको हो, तर हामीले सकेसम्म निर्धारित समयभित्र नीति तथा कार्यक्रम ल्याउने र बजेट बनाउने कोशिस गरिरहेका छौँ ।’ स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार १० असारभित्र नीति तथा कार्यक्रम र असारभित्र बजेट ल्याइसक्नुपर्छ । तर, कतिपय स्थानीय तहमा विवादका कारण बजेट र नीति तथा कार्यक्रम आउन सकेको छैन ।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म नौ अर्ब ९७ करोड ९४ लाख ७९ हजार नौ सय ४४ रुपैयाँ खर्च भएको छ । १४ अर्ब ९२ करोड ६८ लाख ४५ हजार रुपैयाँ खातामै मौज्दात छ । महानगरको राजस्व विभागका प्रमुख दीपक अधिकारीले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताए । काठमाडौं महानगरपालिका राजस्व संकलनमा पनि कमजोर देखिएको छ । तर, विगतका वर्षहरूको तुलनामा भने चालू आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति आएको राजस्व विभागको दाबी छ ।