१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
डा. आरपी चौधरी
Invalid date format १o:४६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी पूरा गरौँ बच्चाको सन्तुलित आहार

Read Time : > 1 मिनेट
डा. आरपी चौधरी
नयाँ पत्रिका
Invalid date format १o:४६:oo

आमाको दुध बच्चाका लागि स्वस्थ र तन्दुरुस्त राख्ने उत्तम आहार हो । स्तनपानले सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्यमा सकारात्मक भूमिका खेलिरहेको हुन्छ । आमाको दुधले रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । ६ महिनासम्म बच्चामा रोगसँग लड्ने क्षमता विकास भएको हुँदैन । यतिवेला आमाको दुधले नै रोगप्रतिरोधात्मकको काम गर्छ । आमाको दुधमा बच्चाको आन्द्रामा मिल्ने सबै पौष्टिक तत्व मिश्रण भएको हुन्छ । अन्य आहार दिनैपरेको खण्डमा अन्य फर्मुला फिडिङ पनि गराउन सकिन्छ ।

गाईभैँसीको दुध आमाको दुधजस्तो हुँदैन । कुनैमा क्याल्सियम बढी हुन्छ, कुनैमा प्रोटिन बढी हुन्छ । अरू दुध दिनै परे पनि ६ महिनापछि दिनुपर्छ । ६ महिनापछि दूधसँगै अन्य ठोस खानेकुरा खुवाउन सकिन्छ । त्यसपछि आमाको दुध मात्रै खुवाएर पुग्दैन । आमाको दुधले मात्रै पोषण पुगिरहेको हुँदैन । हामीले खाइरहेको खानेकुरा खुवाउँदा राम्रो हुन्छ । बालबालिकामा ठुलो भइसकेपछि पनि स्वस्थ खानेकुरा खाने बानीको विकास गर्नुपर्छ । घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिले पनि जोड दिनुपर्छ  । उनीहरूको खाना नरम हुनुपर्छ । बच्चाको विकासका लागि सन्तुलित आहार अपरिहार्य हुन्छ । प्रोटिन, फ्याट, फाइबर डाइट महत्वपूर्ण हुन्छ । 

- बच्चालाई प्रोटिनयुक्त खानेकुरामा माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । अन्डाको सेतो र पहेँलो भाग मिसाएर दिन सकिन्छ । ६ महिनामाथिका बच्चालाई दैनिक एउटा अन्डाले आवश्यक पर्ने क्यालोरी, प्रोटिन र भिटामिन मात्रा पुग्छ । 

- विस्तारै ठुलो हुँदै गएपछि सागसब्जी, गेडागुडी दिनुपर्छ । फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, फाइबरलगायत परिपूर्ति गर्न सहयोग गर्छ । साथै, रोगसँग लड्ने क्षमताको विकास गर्ने र सम्भावित रोगबाट समेत बचाउँछ । सागसब्जी र फलफूल अर्गानिक नै खुवाउनुपर्छ । 

- एक वर्ष पूरा भएपछि बच्चाहरूमा कब्जियतको समस्या भएको पनि पाइन्छ । समयमा दिशा नगर्ने, तीन–चार दिनसम्म नगर्ने, दिसा गर्दा पनि एकदमै सारो खालको गर्ने । यो पनि आहारमै निर्भर रहन्छ । यो समस्याको समाधान सन्तुलित आहारले मात्रै गर्छ । 

- चामल, गहुँ, मकै, जौ, कोदो आदि अन्नबाट बनेका खानेकुरा बच्चाको भोजनमा समावेश गर्दा राम्रो हुन्छ । जंकफुड खुवाउनु हुँदैन । 

- बच्चाका लागि पानी स्वस्थ पेय पदार्थ हो । तर, पानी शुद्ध हुन जरुरी छ । पानीको उपयुक्त प्रयोगले बच्चाको पाचनप्रकिया सहज राख्न सहयोग गर्छ । बच्चालाई उमालेको पानी खुवाउनुपर्छ । धेरै चिसो पानी पनि खुवाउनु हुँदैन ।


(डा. चौधरी वरिष्ठ बाल शल्यचिकित्सक हुन् । उनी ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन् ।)