१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
पवन बराइली काठमाडाैं
२o८२ असार ७ शनिबार १o:२८:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

नेपाली सिनेमाले नबुझेको मधेश

Read Time : > 7 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १o:२८:oo
  • नेपाली सिनेमालाई विश्व मञ्चमा पुर्‍याउन लागिपरेका निर्देशकमध्ये एक हुन्, दीपक रौनियार । उनका सर्ट फिल्म ‘थ्रेसहोल्ड’ कान्स फिल्म फेस्टिभलको सर्ट कर्नरमा पुगेको थियो । उनको फिचर फिल्म ‘हाइवे’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुने पहिलो नेपाली सिनेमा हो । अर्काे फिचर फिल्म ‘सेतो सूर्य’ भेनिस, टोरन्टो, बुसानलगायत दर्जनौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । त्यसपछि न्युयोर्क टाइम्सले संसारका उत्कृष्ट नौ नवनिर्देशकको सूचीमा रौनियारलाई राखेको थियो । उनको तेस्रो फिचर सिनेमा ‘राजागंज’ (पूजा सर) भेनिस, बुसानजस्ता फेस्टिभलमा प्रदर्शनका लागि छानिएको थियो । निर्देशक रौनियारसँग नेपाली सिनेमामा मधेशको कथामा केन्द्रित रही पवन बराइलीले कुराकानी गरेका छन् :

‘राजागंज’ सिनेमा हेरेपछि धेरै साथीहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । तर, सँगै फिल्म मधेशबारे रहेछ भनेर टिप्पणी गरे । यस्तो प्रतिक्रियापछि मलाईचाहिँ साथीहरूले किन यस्तो ठाने भन्ने लाग्यो । फिल्मको कथा किन उनीहरूलाई आफ्नोजस्तो लागेन, मधेश भन्नेबित्तिकै किन अर्कै ठानिन्छ ? मधेशको कथामा बनेको फिल्म पहाडिया दर्शकलाई किन आफ्नोजस्तो लाग्दैन, मधेशको कथामा किन अपनत्व महसुस गर्दैनन् ? मधेशको रहनसहन, भाषा–संस्कृति, छालाको रङ र हुर्काइ फरक होला । भोगाइको महसुस एउटै हुनुपर्ने होइन र ? 

नवीन सुब्बा (दाइ)ले ताप्लेजुङ गएर बनाएको फिल्मलाई मैले त्यो मेरो फिल्म होइन भन्न मिल्छ ? त्यो समाजलाई सिनेमामा कसरी समेट्नुभयो भन्ने पो महत्वपूर्ण हुन्छ होला नि । हामीले एक–अर्काको समुदायलाई कहिल्यै बुझ्न खोजेनौँ । विभेद एक–अर्कालाई नचिनेर हुने हो । हामीले एक–अर्कालाई नचिनेर र सम्मान नगरेर विभेद गरिरहेका छौँ ।

मधेशमा जन्मेहुर्केका मान्छेलाई अझै पनि ‘मधेश’ भन्ने शब्द उच्चारण गाह्रो लाग्छ । मधेशलाई तराई भन्न सजिलो मान्छन् । कतै तराई–मधेश भनेको पनि सुनिन्छ ।

देख्नलाई त तराई एउटा समथर भूमिको रूपमा देखिन्छ । तर, मधेश आफैँमा संस्कृति र पहिचान हो । मधेश भनेको छालाको रङ पनि हो । छालाको रङले मधेशको संस्कृति र समाज बनेको छ । मधेशले आफ्नै सांस्कृतिक पहिचान बोकेको छ । यो पहिचानलाई छालाको रङले समेत जोड्छ । तर, मधेशलाई अझै पनि रङको आधारमा छुट्याइन्छ । उसलाई काठमाडौं वा पाहाडमा छालाको रङबाट ‘मधेशी’ भनेर सजिलै चिनिन्छ । छालाको रङकै आधारमा ‘मधेशी’ भनेर होच्याएर बोलाइन्छ ।

गौतम बुद्ध र हिमाललाई मात्र चिनाइरह्यौँ 
हाम्रोमा नेपाली भाषामा बनेको सिनेमालाई राष्ट्रिय फिल्म भन्ने चलन छ । अन्य भाषा बनाउँदा क्षेत्रीय फिल्म भनिन्छ । कुनै समुदायको भाषामा बनेको फिल्मलाई फिल्म नै मानिँदैन । हुन त हाम्रो स्कुलिङ नै गलत छ । म मधेशमा जन्मिएर पनि स्कुलमा मधेशबारे पढ्न पाइनँ । सानैदेखि सगरमाथा हिमाल, गौतम बौद्ध, भृकुटीबारे मात्रै पढाइयो चिनाइयो । वर्षाैंअघि मरिसकेका व्यक्तिलाई गर्व मानिरह्यौँ । गौतम बुद्धले दिएको ज्ञान होइन, नेपालमा जन्मिएको हो भन्ने अपनत्व सधैँ लिन खोज्यौँ । अझै सगरमाथाको देशमा जन्मिएको भनिरहन्छौँ ।

मधेश आन्दोलपछि मात्रै मधेशका विषय उठ्न थाल्यो । ०४६ पछाडि मधेश कसरी जोडिएको थियो ? भन्नेबारे सोचिँदैन थियो । पञ्चायतकालमा मधेशको योगदान के थियो ? कसैलाई थाहा थिएन । मधेश आन्दोलपछि मात्रै मधेशबारे कुरा हुन थालेको हो । मधेशी समुदायबाट राष्ट्रपति (रामवरण यादव) बनेपछि मधेशप्रति सचेत हुन थाालिएको हो । नेपालको आधा जनसंख्या ओगटेको मधेशको कहिल्यै कुरा गरिएन । यो भेग पहिलेदेखि सांस्कृतिक रूपमा अगाडि थियो र छ । यहाँ हरेक दिन नयाँ सांस्कृतिक गतिविधि भइरहेका हुन्छन् भने विभिन्न चाडर्व चलिरहेको हुन्छ । यस्ता आर्ट फर्म नेपाली सिनेमामा किन कहिल्यै ल्याइएन ? यो गम्भीर प्रश्न हो ।

कुनै पनि समाज उन्नत हुनलाई त्यहाँ बस्ने व्यक्ति राम्रो हुनुपर्छ । व्यक्ति राम्रो भए समाज स्वतः राम्रो हुन्छ । समाज राम्रो संस्कृतिले हुने हो । तर, नेपालमा व्यक्ति र संस्कृतिलाई भन्दा अर्मूत कुरालाई बढी प्रचार गरिन्छ ।

मुस्ताङबाट बेनी हुँदै मधेश झरियो भने अनुपम सांस्कृतिक विविधताको अनुभव गर्न सकिन्छ । भौगोलिक रूपले पनि स्याउ फल्ने, सुन्तला फल्ने हुँदै आँप फल्ने ठाउँमा पुगिन्छ । सांस्कृतिक विविधताअनुसार हेर्दा यी ठाउँको समुदायगत भाषा र संस्कृति छ । हामी एकैदिन फरक–फरक सांस्कृतिक विविधता भएको ठाउँमा पुग्छौँ । तर, समुदायबिच एक–अर्कालाई बुझ्ने प्रयास हुन सकेन । एकले अर्काेलाई सम्मान दिन खोजिएन । व्यक्ति र संस्कृतिलाई कहिल्यै निष्ठाको रूपले हेरिएन । त्यसैले सिनेमाको कथामा हाम्रो संस्कृति आएन । बरु सिनेमामा हिमाल र गौतम बुद्ध देखाउन लागिरह्यौँ । सिनेमा कला हो, समाजका लागि महत्वपूर्ण छ भन्ने बुझेनौँ । 

आफैँले देखे–भोगेको कथाबाट उत्कृष्ट सिनेमा बनाउन सकिन्छ
मल्लकालीन समयमा काठमाडौं उत्यकामा मैथली भाषामा नाटक मञ्चन भएको इतिहास पढ्न पाइन्छ । त्यतिवेलै मैथली भाषामा नाटक मञ्चन हुने उपत्यकामा पछि कसरी हरायो ? पहाड र मधेशको सम्बन्ध कसरी बिग्रियो ? सिनेमामा पहाडमा जन्मेहुर्केकाको फिल्म निर्देशक उपस्थिति धेरै छ । उनीहरूले आफू हुर्केको ठाउँका कथा ल्याइरहेका छन् । आफू हुर्केको परिवेशको कथा ल्याउनु स्वाभाविक मान्नु पनि पर्छ । आफैँले देखेको भोगेको कथा ल्याउनु राम्रै हो । यस्तै सिनेमा उत्कृष्ट बन्न पनि सक्छन् ।

मानौँ, काठमाडौंमा हुर्किएको मान्छेले छाउपडीको कथामा फिल्म बनाउन खोजेर हुुँदैन । छाउपडी कथामा फिल्म बनाउँछु भन्दा राम्रो लाग्छ । यस्तो पीडादायी कथामा फिल्म बनाउन आवश्यक छ । तर, काठमाडौंमा हुर्केको मान्छेलाई छाउपडीका कथामा फिल्म बनाउने अधिकार छ ? उसले चाहेर पनि त्यो पीडा बुझ्न सक्छ ? योचाहिँ महत्वपूर्ण हुन्छ । उसले बनाउने हो भने त्यो ठाउँमा गएर बस्नुपर्‍यो । छाउपडी भोग्ने महिलाको पीडाबारे पूर्ण जानकार हुनुपर्‍यो । छाउपडीको कथामा महिलाले नै फिल्म बनाउनुपर्छ भन्ने पनि छैन । तर, अनुभव र अध्ययन गर्न जरुरी छ । त्यो कथामा मेकर कति इमानदार भएर भन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

अहिले नेपाली सिनेमामा पूर्वी पहाडका कथा आउन थालेका छन् । यस्ता कथालाई मन पराइएको पनि छ । नेपाली सिनेमाका लागि यो राम्रो पक्ष हो । एकपछि अर्काे सिनेमामा लिम्बू, राई, मगर समुदायका कथा आइरहेका छन् । तर, यी कथा तुरुन्तै आउन सफल भएका होइनन् । समुदायको कथा आउनुको श्रेय नवीन सुब्बा (दाइ)लाई जान्छ । आजभन्दा २५–२६ वर्षअघि ‘नुमाफुङ’ बनाउने आँट गर्नुभयो । त्यसपछि सिनेमामा कथा यसरी पनि भन्न सकिने रहेछ भन्ने थाहा भयो । बिस्तारै समुदायका कथामा फिल्म बन्न थाले । ‘कबड्डी’, ‘जारी’ जस्ता सिनेमा बन्न थाले । यी सिनेमा रुचाइएका पनि छन् ।

नवीन सुब्बा, उपेन्द्र सुब्बा, रामबाबु गुरुङहरूले ल्याएको परिवेशको कथा म ल्याउन सक्दिनँ । समुदायलाई बुझेको मान्छे नभएको भए ‘जारी’, ‘कबड्डी’जस्ता सिनेमा बन्दैनथे । म ‘जारी’, ‘कबड्डी’जस्ता सिनेमाको कथा ल्याउन सक्दिनँ । किनभने, मेरो हुर्काइको परिवेश त्यो होइन । जसरी उपेन्द्र सुब्बा, रामबाबु गुरुङहरूले समुदायको कथा ल्याइरहेका छन्, उनीहरूलाई समुदायको सहयोग छ । उनीहरूका लागि समुदाय नै जगरुक भयो ।

सिनेमाप्रति मधेशी दर्शकको लगाव छैन 
सिनेमामा मधेशको कथा नआउनुमा मधेशको आफ्नै कमजोरी पनि छ । मधेशी समुदायको सिनेमामा उपस्थिति कम छ । सिनेमाप्रति ‘अवेयरनेस’ पनि छैन । आर्टप्रति मधेशका मान्छेको कनेक्सन पनि छैन । मधेशी दर्शकले सिनेमा हेरिहाले पनि ‘लाउड एक्टिङ’ भएको हेर्ने धङधङी छ । त्यसलाई चिर्नुपर्छ । मधेशले सिनेमामा लगानी गर्न सकेको छैन । समुदायगत तहबाट सिनेमामा लगानी हुनुपर्थ्यो । यसरी लगानी नै भएको छैन ।

पहाडिया निर्देशकले मधेशको कथा किन भन्नु ? सोलुखुम्बुमा हुर्केको मान्छेले जनकपुरको कथा किन भन्छ ? उसको के ‘इन्ट्रेस्ट’ हुन्छ ? मधेशका कथा आउनलाई कथा लेख्ने मान्छे हुनुपर्‍यो । फिल्म बनाउने मान्छे पनि हुनुपर्‍यो । अनि मात्रै मधेशका फरक–फरक दृष्टिकोणबाट कथा सुरु हुन्छ । मधेशका कथा अरू समुदायका निर्देशकले भनिदिएन भनेर गुनासो गर्नुको खास अर्थ पनि छैन । निर्देशकले आफूले भोगेको कथा ल्याउने हो । उसले आफ्नो समुदायको कथा भन्ने हो । उसको समुदायको कथा बाहिरको मान्छेले भन्न सक्दैन । बाहिरको मान्छेले एउटा फिल्म बनाइदिँदैमा त्यसमा समुदायको आवाज आउँदैन ।

मधेशका कथा सधैँ ओझेलमा 
मधेश सिनेमाका लागि आवश्यक कथा नभएको ठाउँ हो ? पक्कै होइन । मधेशमा जति सिनेमाका कथा कहाँ होलान् र ? मधेश त कथाको मुहान नै मान्न सकिन्छ । तर, नेपाली सिनेमाले देखेको छैन ।

राजनीतिक द्वन्द्व, सीमा समस्या, भूमिहीन, जातीय विभेद, गरिबी, मानव तस्कर, दाइजो प्रथाजस्ता गम्भीर आपराधिक गतिविधि मधेशमै धेरै छन् । यस्ता गम्भीर आपराधिक विषय सिनेमा बन्नुपर्ने होइन र ? दिनदिनै जस्तो मधेशमा आपराधिक गतिविधि भइरहेका छन् । चुरे क्षेत्र, भित्री मधेशका भित्री कथामा सिनेमा बन्न सक्थे ।

मधेशमा चरम गरिबी छ । मान्छेहरू राजमार्ग आसपासमै बसोबास गरे पनि खान–लगाउन समस्या छ । स्वास्थ्य, शिक्षा, खानेपानीमा अझै सहज पहुँच छैन । मधेशका मान्छे राज्यविहीनताको अवस्थामा छन् । पहिचानको संकट छ । अझै मेरो देश हो भनेर महसुस गर्न सकेका छैनन् । मधेशका महिलाको अवस्था कस्तो होला ? जातीय विभेदजस्ता आपराधिक घटना कति भइरहेका होलान् । यसलाई मधेशको समस्या मात्रै भन्न मिल्ला र ? यो देशको समस्या होइन ? मधेशको जीवनशैली र संघर्ष देखेनौँ । उनीहरूको पीडालाई गहिरोसँग महसुस गर्न सकेनौँ । मधेशको सामाजिक यथार्थलाई नेपाली सिनेमाले देखेकै छैन ।

मधेशमा समस्या मात्रै छैनन्, संस्कृति विविधता पनि छ । एउटा समुदायले मात्रै मधेश बनेको होइन । मधेशले विभिन्न जातजातिको सभ्यता बोकेको छ । मैथली, भोजपुरी, थारू, धिमालका आ–आफ्नै संस्कृति छन् । तर, संस्कृतिक यथार्थलाई सिनेमामा ल्याउन सजिलो छैन । यसका लागि भाषागत समस्या, कत्तिको स्वाभाविक हुन्छ ? फिल्म बिक्ने–नबिक्ने अवस्था कस्तो छ ? हेर्नुपर्छ । पूर्ण रूपमा मैथलीमा फिल्म बनायो भने के होला ? यो आफैँमा जटिल प्रश्न हो ।

मधेशी र गरिब देखाउन कालो दलिन्छ 
सिनेमामा पनि जातीयता र गरिबीलाई जोडिन्छ । निर्देशक मीन भामले ‘कलोपोथी’मा शिक्षकलाई गम्छा लगाइदिएका छन् । सिनेमामा उनलाई मधेशी शिक्षक देखाइदिनु थियो । त्यसैले गम्छा लगाइदिए । बुट पोलिस लगाएर कालो बनाइन्छ र नेपाली राम्रोसँग बोल्न जान्दैन भन्ने रूपमा अथ्र्याइन्छ । एकजना कमेडियनले वर्षाैंसम्म मुख बंग्याएर कालो दलेर कार्यक्रम चलाउँथे ।

हिजो रामविलास (दीपकराज गिरी) र धनियाँ (दीपा श्री निरौला) को कार्यक्रम आउँथ्यो । रामविलास र धनियाँले लवज बिगारेर बोल्थे । मधेशका मान्छे त्यसरी मात्रै बोल्छन् भन्ने बुझाइ विकास भयो । रामविलास र धनियाँले मधेशका पहिचान बनाइदिएका थिए । धेरैलाई मधेशका मान्छे रामविलास र धनियाँजसरी बोल्छन् भन्ने भयो । मधेशलाई त्यसरी मनोबोल घटाउने र सामान्यकरण गर्ने काम भयो । 

मधेशी पात्र प्रमुख किन बन्दैनन् ?
नेपाली सिनेमामा मधेशी पात्रलाई प्रमुख बनाएको मुस्किलै भेटिएला । अधिकांश सिनेमामा सहायक भूमिकामा राखिन्छ । उसलाई हाँसीमजाकको रूपमा मात्रै ल्याइन्छ । ठग, दलालको रूपमा देखाइँदै आएको छ । मधेशी भनेको गम्छा लगाउने, मुख बिगारेर बोल्ने, हाँसोको पात्रको रूपमा प्रस्तुत गरिन्छ । मधेशको मान्छेलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन । सिनेमामा मधेशी पात्रलाई कमेडीको रूपमा मात्रै प्रयोग गरियो । मधेशी पात्रलाई गम्भीर रूपमा कहिल्यै देखाइएन ।

मधेशी समुदायलाई मात्रै होइन, दलित समुदायलाई पनि गलत रूपमा चित्रण गरिन्छ । सिनेमामा ब्राह्मण समुदायका कलाकारलाई दलितको भूमिका गराउन लगाइन्छ । उसलाई दलितजस्तो देखाउन फोहोरी बनाइन्छ । फोहोरी बनाइदिए दलित भइगयो भन्ने बुझाइ छ । फिल्म मेकरमा दलित फोहोरी हुन्छन्, झुत्रे कपडा लगाउँछन् भन्ने बुझाइ छ । ब्राह्मण समुदायका मात्रै सफा हुन्छन् त ? उनीहरू पनि फोहोरी हुन्छन् होला नि ! तर, सिनेमामा ब्राह्मण पात्रलाई कालोमोसो दलेर चित्रण गरिँदैन । एउटा मेकरले आफूले नबुझेको समाजको पात्रलाई ह्युमरको रूपमा प्रयोग गर्छ । यसको दीर्घकालिन असर कस्तो हुन्छ ? त्यो समुदायले कसरी लिन्छ भन्नेतिर सोचिँदैन । मेकरको दृष्टिकोणबाट मात्रै पात्र निर्माण गरिन्छ । जसले गर्दा मधेशी र दलित समुदाय गलत रूपमा चित्रण भइरहेका छन् । पछिल्लो समय केही निर्देशकले यस्ता विषयलाई संवेदनशील रूपमा लिएको पनि देखिन्छ ।

फिल्ममेकरको काम दर्शक हँसाउने र रुवाउने मात्र होइन 
अधिकांशलाई लाग्छ, सिनेमा मनोरञ्जनका लागि मात्रै हेरिन्छ । यस्तै कतिपयलाई सिनेमाले हँसाउने, रुवाउने गर्नुपर्छ भन्ने लाग्ला । तर, एउटा फिल्ममेकरले दर्शकलाई मनोरञ्जन दिने, रुवाउने र हसाउनेभन्दा पनि समाजलाई प्रश्न गर्न सिकाउने हो । प्रश्न गर्न प्रोत्साहन गर्ने हो । तर, यसरी प्रस्तुत हुने निर्देशक औँलामा गन्न सकिन्छ ।

कुनै समुदायको विषयमा फिल्म बनाउँदा समुदायकै मान्छे नहुनु कति जायज हो ? एउटा फिल्ममेकरले उसले उठाएको पात्र र थिमसँग उसको सम्बन्ध हुन जरुरी छ । त्यहाँनेर फिल्ममेकर इमानदार हुनुपर्छ । छाउपडीको कथा बनाउन महिला र त्यही गाउँमा हुर्केको हुनुपर्छ भन्ने छैन । तर, त्यहाँ बस्न जरुरी छ, पीडा भोग्ने महिलासँग सहकार्य जरुरी छ । सम्बन्धित विषयमा अध्ययन र अनुसन्धान आवश्यक पर्छ । 

राज्यको भूमिका 
मधेशमा प्रतिभाको कमी पक्कै छैन । तर, ती प्रतिभाले सिनेमामा स्थान पाउन सकेका छैनन् । निर्देशक, निर्माता, कलाकार मधेशी समुदायबाट प्रतिनिधित्व कम छ । खासगरी स्क्रिप्ट लेखन र निर्देशनमा मधेशी समुदायको उपस्थिति बढ्यो भने मधेशका कथा सिनेमामा स्वाभाविक आउन थाल्छन् । मधेशका एकाध निर्देशकले सर्ट फिल्म बनाइरहेका छन् । उनीहरूले आफ्ना परिवेशका कथा ल्याउने प्रयत्न गरेका छन् । तर, सर्ट फिल्मपछि फिचर फिल्म बनाउन सक्ने अवस्था छैन ।

मैले सन् २००८ मा सर्ट फिल्म ‘चौकैट’ बनाएँ । जुन मधेशको कथामा थियो । त्यसवेला जागिरे थिएँ । जागिरको पैसा र साथीभाइको सहयोगले फिल्म बनाएँ । त्यसवेला डेढ लाख खर्च भएको थियो । नेपालमा हामीजस्तो रेगुलर काम गर्ने मान्छेलाई डेढ लाख जुटाउन कति महिनाको तलब वचत गर्नुपर्छ होला ?

फिचर फिल्म ‘हाइवे’ बनाउन समय लाग्यो । फिचर फिल्म बनाउने आँट गर्न सकिनँ । आफैँले खर्च गरेर बनाउन सक्ने अवस्था छैन । फिल्ममा लगानी गर्न सकेकै छैनौँ । व्यापारको दृष्टिकोणले मात्रै फिल्म बनायो भने मेकरलाई डर लाग्छ । उसले गहिरो विषयमा फिल्म बनाउने आँट गर्दैन । फिल्म मेकिङ आफैँमा खर्चिलो विधा हो । फिल्म मेकर आफैँले लगानी गरेर राम्रो फिल्म बन्दैन पनि । 

व्यक्तिगत लगानीका फिल्म डुब्ने सम्भवना धेरै हुन्छ । एउटा मान्छेको एक करोड लागानी डुब्नु उसको सर्वस्व जानु हो । कुनै पनि समाजमा आर्ट फस्टाउन राज्यले लगानी गर्नुपर्छ । आर्टलाई राज्यले अपनत्व लिनुपर्छ । त्यस्तै फिल्म बनाउन पनि लगानी आवश्यक पर्छ । मधेशका कथा आउनका लागि त्यहाँको राज्यले पनि लगानी जुटाइदिनुपर्छ । राज्यले आर्टमा लगानी गर्‍यो भने सांस्कृतिक विविधता आउँछ ।

हाम्रो राज्यले त्यो भूमिका खेल्न सकेन । सिनेमा उद्योगले विदेशी फिल्ममा कर लगाएर पैसा कमाउँछ । करोडौँ करबाट उठाएको पैसा कहाँ जान्छ ? त्यसको कति पैसा सिनेमा क्षेत्रलाई लगानी गरेको छ ? पैसा थोरै भए पनि फिल्ममा लगानी गर्न सक्नुपर्थ्यो । जनकपुर, वीरगन्ज वा काठमाडौं, पोखराका मेयरले बर्सेनि एक करोड मात्रै फिल्मलाई छुट्याउने हो भने वर्षमा १० वटा फिल्म बन्न सक्थ्यो । त्यसरी फिल्म बनाउँदा त्यो सहरको विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ ।