
उपसभामुख इन्दिरा रानाले विश्वका सबै क्षेत्रमा त्यहाँको भूगोल र स्तरअनुसार लोकतन्त्रले चुनौतीहरू भोगिरहेको धारणा राखेकी छिन्।
दक्षिण अफ्रिकाको प्रिटोरियामा आयोजित ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना : विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘आज लोकतन्त्रले विश्वका सबै क्षेत्र र स्तरमा चुनौतीहरू भोगिरहेको छ,’ उनले भनिन्, ‘कमजोर सामाजिक सुरक्षा प्रणाली, वातावरणीय विनाश, भ्रष्टाचार र महामारीजस्ता विश्वव्यापी संकटहरूले स्थापित लोकतन्त्रहरूलाई समेत कमजोर बनाएको छ।’
गरिबी, असमानता, संस्थागत कमजोरी, बाह्य हस्तक्षेप र जलवायु परिवर्तनजस्ता बहुआयामिक संकटहरू ग्लोबल साउथका मुलुकले साझा रूपमा सामना गरिरहेका प्रमुख चुनौतीहरू भएको चर्चा गर्दै उपसभामुख रानाले यस्ता चुनौतीहरूले राष्ट्रिय प्राथमिकता बिथोल्ने, लोकतान्त्रिक सहभागिता कमजोर पार्ने र कमजोर वर्गलाई असर गरेकोतर्फ ध्यानाकर्षण गराइन्।
नेपालको लोकतान्त्रिक यात्राले सिकाएका पाठहरू विश्वभर शान्ति, समानता र न्याय स्थापनाका लागि सान्दर्भिक भएको बताउँदै उपसभामुख रानाले संघीय लोकतन्त्रको बाटोतर्फ सफलतापूर्वक अपनाएको विधि ग्लोबल साउथका अन्य देशका लागि समेत उदाहरणीय हुन सक्ने धारणा राखिन्।