
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।
‘भिजिट भिसा’ प्रकरणको विषय उठाई संसदमा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनले भने, ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ ।’
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसद विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापी रूपमा मानव तस्करीको विरोधस्वरूप संकेत मानिन्छ ।