
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । मन्त्री चौधरीले खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यकारी निर्देशक आफूखुसी नियुक्त गरेको भन्दै मुख्यमन्त्री शाहले उनको राजीनामा मागेका बुझिएको छ ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार कार्यकारी निर्देशक नियुक्तिको विषयसँगै मन्त्रालयको बजेट निर्माणमा चौधरीले आर्थिक चलखेल गरेको र कृषिमन्त्री भएका वेला कृषि अनुदान वितरणसम्बन्धी विवादमा मुछिएकाले पनि मुख्यमन्त्रीले उनको राजीनामा मागिएको हो ।
मन्त्री चौधरीले भने आफूले गलत नगरेको भन्दै राजीनामा नदिने अडान लिएका छन् । उनले राजीनामा नदिने भन्दै बर्खास्त गर्न चुनौती दिएका छन् । ‘मुख्यमन्त्रीले मंगलबार राति फोन गरेर मलाई जानकारी नदिई कार्यकारी निर्देशक किन नियुक्त गरेको भन्दै राजीनामा दिनोस् भन्नुभएको थियो,’ चौधरीले भने, ‘मैले पहिलेको समझदारीअनुसार कार्यकारी नियुक्त गरेको हो, राजीनामा दिन्न, बर्खास्त गर्नोस् भनेँ ।’ बजेट र अनुदानको विषयमा सार्वजनिक भएका आरोप गलत रहेको उनले दाबी गरे ।
मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट खप्तडको कार्यकारी निर्देशकमा डोटीका खेमराज जोशीलाई गत १९ जेठमा नियुक्त गरेका थिए । कार्यकारी निर्देशकले उपसचिवस्तरको सेवा–सुविधा पाउने व्यवस्था छ । नियुक्तिबारे मुख्यमन्त्रीसँग कुनै सल्लाह नभएको उनको सचिवालयका एक सदस्यले बताए ।
मन्त्री चौधरीले भने यसअघि नागरिक उन्मुक्तिबाटै लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटनमन्त्री भएका वेला वैजथानधाम पर्यटन विकास समितिमा एमालेनिकट र रामारोशन पर्यटन विकास समितिमा कांग्रेसनिकटलाई कार्यकारी नियुक्त गरिएकाले खप्तडमा नागरिक उन्मुक्तिले गर्ने भद्र समझदारी भएको दाबी गरेका छन् । उक्त समझदारीअनुसार आफूले पार्टीनिकट जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको उनले बताए ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्री चौधरीलाई राजीनामा दिन लगाउन मुख्यमन्त्रीले आफूलाई पनि भनेको, तर कारण नखुलाएको बताइन् । ‘राजीनामाको जवाफ मन्त्रीले दिइसक्नुभएको छ,’ उनले भनिन्, ‘मुख्यमन्त्रीले बर्खास्त गरेपछि कसरी अगाडि बढ्ने भनेर पार्टीमा छलफल गर्छौँ ।’ नागरिक उन्मुक्तिबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका लक्ष्मणकिशोर चौधरीको आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवाद सार्वजनिक भएपछि उनले गत फागुनमा पदबाट राजीनामा दिएका थिए । रामेश्वर गत ४ जेठमा मन्त्री नियुक्त भएका थिए ।