
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् । साथै उनले चोर र लुटेरा नेताहरूबाट मुलुकलाई मुक्त गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेपाली जनताले तिरेको करको रिटर्नी नपाएको उनले गुनासो गरे ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनता हेरेको हेरेकै हुने अवस्था रहेको बताए । देशको बजेट नेपाली जनताको रगत–पसिनाबाट बनेको पनि उनले सरकारलाई स्मरण गराए । देशको बजेटमा सबैको समान लगानी रहेको बताउँदै उनले विनियोजन पनि समान हुनुपर्ने बताए ।
‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौँ भने उसले पैसाबापत सामान दिन्छ । एउटा मजदुरले कहीँ गएर काम गर्याे भने काम गरेबापतको ज्याला पाउँछ । नेपाली जनताले तिरेको करकोचाहिँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन ?’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ । यस्तो अत्याचार किन भयो ? नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरू सांसदहरु हेरेको हेरेकैजस्तो भयो । नेपाली जनताले तिरेको कर नेताहरूको भुँडी भर्नलाई हो ? जनताहरू हेरेको हेरेकै हुने नेताजीहरू मालामाल हुने । यो असमानता देखिएको छ । सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ ? नेपाली जनतासँग पैसा लिने रिटर्न नदिने ?’
देश चलाउन नेता बनेको कि देश बेच्न ? भन्ने प्रश्न खडा भएको उनले बताए । नेता साहले नेतृत्वलाई चोरको संज्ञा दिँदै चोरहरूको हातबाट देशलाई मुक्त गराउन आवश्यक भएको बताए ।
‘हाम्रो उत्पादनहरू महँगो भयो । हाम्रो व्यवसायहरू चौपट भइराखेको छ । किन भने करको कर छ, कर आतंक छ । जनताले सबै दिनुपर्ने, चोरहरूको हातबाट देशलाई मुक्त गराउन जरुरी छ । कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन,’ आजपा अध्यक्ष साहले भने ।
यस्तै, उनले सदनको गरिमा माथि उठाउन सभामुखसँग आग्रहसमेत गरे । दिनलाई रात बनाउने काम भइरहेको बताउँदै उनले सरकारको असमान बजेट वितरण जनताको हितमा नभएको टिप्पणी गरे । जल, जंगल, नदीनालामा नेता र नेताका आसेपासेहरूको लुट चलिरहेकोसमेत उनले बताए ।