
वरीपरी हरियाली घाँस, बिचमा कालोपत्रे चिटिक्क परेको बलेवा विमानस्थल । हेर्दा अन्य स्थानको आन्तरिक विमानस्थल भन्दा कम छैन । कालोपत्रे भएको पनि साढे तीन वर्ष भै सक्यो, कालोपत्रे गरेको ठाउँमा घाँसका मुनाहरु पलाउन लागि सकेका छन् । विमानस्थलमा जोड्नुपर्ने सवै उपकरणहरु पनि जोडिएका छन तर वरीपरि लगाइएका तारजालीमा विस्तारै खिया लाग्न सुरु गरेको छ । धावनमार्गमा काँस र सिरुका मुनाहरु पलाइसके । कालोपत्रे गरेपनि विमानस्थल संचालन हुन नसकेपछि यसको न संरक्षण भएको छ न प्रयोग नै ।
स्थानीयले श्रमदान गरेर निर्माण गरेको विमानस्थल
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा विमानस्थल कालोपत्रे भएर पनि संचालनमा आउन सकेको छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो । विमानस्थलबाट काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । उबेला धावनमार्ग कच्ची हुँदा निरन्तर संचालन भएको थियो । पछि केही समय बन्द अवस्थामा नै रहयो । अहिले विमानस्थल कालेपत्र गरेको साढे तीन वर्ष भइसक्दा पनि जहाज आउने कसैलाई अत्तोपत्तो छैन ।
कच्चि धावनमार्गमा संचालन भएको जहाज पक्की हुँदा आउँदैन
छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो । त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले ४ महिना नियमित उडान भरे । साताको दुई वटासम्म उडान गर्दा नगरपालिकाले २० लाखभन्दा बढी रकम सिट क्षमताका आधारमा तिरेको थियो यसलाई नियमित गर्न कठिनाई पर्यो । धावनमार्ग कच्ची हुँदा विमान उडाउन समेत समस्या आएपछि उडान रोकिएको थियो । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो । तर अहिलेसम्म सञ्चालनका लागि कही कतैबाट पहल नहुँदा स्थानियमा निराशा छाएको बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री बताउँछन ।
कच्चि हुँदा जहाज चल्यो पक्की हुँदा आउने छाँटकाट छैन
विसं २०७८ चैतमा विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो । बागलुङ नगरको अगुवाइमा नेपाल नागरिक उड्यन प्राधिकरणले धावनमार्ग कालोपत्र गरेको हो । कालोपत्र बनेपछि भने विमानस्थल सञ्चालनमा कसैले चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । ‘काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ ले ८ करोड २४ लाख ३४ हजार रुपैयाँ लागतमा बलेवा विमानस्थल कालोपत्र गरेको थियो । करिब ७ सय मिटर लम्बाइ कालोपत्रसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत गरिए पनि जहाज उडाउने पहल भएको छैन ।
करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बन्ने अवस्थामा
लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम रहेको वडा अध्यक्ष खत्री बताउँछन । ‘विमानस्थल कालोपत्रे भएको छ यसलाई नियमित संचालन गर्नुपर्यो भनेर म हरेक ठाउँमा पुगे वडा अध्यक्ष खत्री भन्छन्–‘केही समय पहिले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेलाई पनि यही ल्याएर देखायौं । उहाँले उड्यन प्राधिकरणसँग सल्लाह गर्ने भन्नु भएका थियो । नगरपालिकामा पनि कार्यपालिकाबाट एउटा निर्णय नै गरौं भनेर नगरप्रमुखसँग मैले प्रस्ताव राखेको छु तर केही निचोड निस्कन सकेको छैन ।’ उनले विमानस्थल सुविधा सम्पन्न बन्दा पनि राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेको बताए । विमानस्थलमा हाल रेखदेखका लागि एक जना कर्मचारी रहेका छन् । उनले दैनिकजसो रेखदेख र सरसफाईको काम गर्ने गरेको वडा अध्यक्ष खत्री बताउँछन ।
विमानस्थल पुग्ने सडक राम्रो भए जहाज चल्छ
एयरपोर्ट पुग्ने सडक कच्ची भएकाले विमानस्थल चलाउन समस्या भएको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । यहाँ पुग्ने सडक सहज भए पश्चात प्राधिकरणसँग सल्लाह गरेर विमानस्थल पुन संचालनका लागि नगरपालिकाले पहल थाल्ने छ । ‘पहिले विमानस्थल पुग्ने सडक राम्रो र यात्रुहरुलाई सहज भयो भने जहाज पनि चल्नेछ । नगरप्रमुख श्रेष्ठले भने,‘कालिगण्डकी करिडोर मालढुंगा बलेवा खण्डको काम भइरहेको छ । यस वर्ष सडक निर्माणको काम सम्पन्न भयो भने विमानस्थललाई संचालन गर्नका लागि हामीले पहल थाल्ने योजना बनाएका छौं । सडक सजह भयो भने विमानस्थल पनि संचालनमा आउने छ ।’ उनले विगतका दिनमा पनि नगरपालिकाले नागरिक उड्यन प्राधिकरणमा पुगेर छलफल गर्दा नियमित यात्रु नभए सम्म विमान संचालन नगर्ने प्राधिकरणले नमानेको बताए ।
सडक कालोपत्रे हुँदै
कालिगण्डकी करिडोर निर्माण कम्पनीले काम समयमा नसक्दा सडक निर्माणको काम भने अलपत्र अवस्थामा रहेको छ । गत वर्ष नै निर्माणको काम सक्ने गरी ९९ करोड लागतमा मालढुंगादेखि एयरपोर्टसम्मको १० किमि सडक कालोपत्र गर्ने ठेक्काको काम भै रहेता पनि सुस्तगतीमा काम हुँदा समयमा कालोपत्रे हुन सकेको छैन ।
कालीगण्डकी करिडोर कालोपत्र भए सदरमुकामदेखि १५ मिनेटमा बलेवा विमानस्थल पुग्न सकिन्छ भने पर्वतको कुश्माबाट पनि यान्त्रीक पुल वा बञ्जीजम्पको पुल हुँदै गएमा ३० मिनेटको पैदल यातामा विमानस्थल पुग्न सकिन्छ ।
मुस्ताङ जाने पर्यटक बलेवा आएर जाँदा छोटो
राम्रो हालतको रनवे र वातावरण भएकाले जहाज चल्न सक्ने विमान चालकहरु बताउँथे । बलेवा विमानस्थल संचालन गर्न सके मुक्तिनाथ जाने धार्मिक पर्यटक यही विमानस्थल आएर कालिगण्डकी कारिडोर हुँदै मुक्तिनाथ र कोरला नाका जान सक्छन भने यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने छ । यसका साथै बागलुङ, पर्वत, म्याग्दी, गुल्मी र मुस्ताङका नागरिकलाई काठमाडाैं भैरहवा, नेपालगञ्ज जानका लागि पनि सहज हुने छ ।