१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपभोग्य वस्तु खरिद गर्ने बहानामा सीमापार गराइन्छ नेपाली चेली   

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

आकर्षक रोजगारीको प्रलोभनमा पार्दै  नेपाली चेलीबेटीहरूलाई भारत हुँदै तेस्रो मुलुक पठाउने कार्य अझै पनि जारी छ । विराटनगर जोगबनी नाकाबाट भारत हुँदै तेस्रो मुलुक वैदेशिक रोजगारीका लागि लैजान लागेका १६ जना महिलालाई एक हप्ताअघि मात्र उद्धार गरिएपछि नेपाली चेलीहरूलाई प्रलोभन दिएर लैजाने क्रम अझै निरन्तर जारी  रहेको खुलेको हो ।

जोगबनी नाकामा रहेको चेलीबेटी बेचखिन नियन्त्रणमा सक्रिय साना हात नेपालले यही जेठ तेस्रो हप्ताको तीन दिनको अवधिमा  नेपाली  सीमा क्षेत्र र जोगबनी नाकाबाट १६ जना  महिलाहरूलाई उद्धार गरेको थियो । साना हात नेपालका शाखा प्रमुख विवश श्रेष्ठका अनुसार  पछिल्लोपटक सातजना र केही दिनअघि नौजना गरी जम्मा १६ महिलालाई उद्धार गरिएको हो । उद्धार गरिएका महिलाहरू झापा, बारा, काठमाडौं, मोरङलगायतका विभिन्न जिल्लाबाट आएका हुन् । उनीहरूमध्ये केही अविवाहित किशोरीहरू पनि छन् ।

उद्धार गरिएका चेलीहरूले दिएको बयानअनुसार दलालहरूले आकर्षक रोजगारीको प्रलोभन देखाउँदै  काठमाडौंबाट भारत हुँदै तेस्रो मुलुकमा पठाउने गरेका छन्। उनीहरूलाई नाकामा प्रहरी र अधिकारकर्मीको आँखा छल्न दलालहरूले नेपाली चेलीहरूलाई सीमावर्ती बजारमा उपभोग्य सामान खरिद गर्न गएको बहाना बनाएर भारतको  दिल्ली हुँदै दुबई, कुवेत, ओमानलगायतका खाडी मुलुकमा घरेलु कामदारका रूपमा लैजाने गरेका छन् ।  

‘भारत हुँदै खाडी मुलुक लैजानका लागि आजभाेलि दलालहरूले खुला सिमानाको फाइदा उठाउँदै महिलाहरूलाई ‘जोगबनीमा खाद्य वस्तु किन्न गएको’ भन्ने बहानामा सीमा पार गराउने गरेका छन्,’ माइती नेपाल विराटगरका प्रमुख विनोद पोखरेलले भने । पोखरेलका अनुसार विराटनगर सीमानाका र भारतको जोगबनीस्थित रेल र बस स्टेसनमा संस्थाका मानिसहरूले शंका लागेपछि सोधपुछ गरेर महिलाहरूलाई नियन्त्रमा लिएर कसैलाई सेफ हाउसमा त कसैलाई प्रहरीको जिम्मा लगाउने गरेका छन् । 

विराटनगर जोगबनी नाकामा चेलीबेटी बेचबिखन नियन्त्रण र उद्धारमा सक्रिय माइती नेपालका अनुसार सन् २०२४ मा जोगबनी नाकाबाट २१८ जना नेपाली चेलीहरूकाे भारत जाँदै गर्दा उद्धार भएको थियो । सीमा क्षेत्रमा प्रहरी र संघसंस्थाहरूबाट नेपाली चेलीबेटीहरूको उद्धार भए पनि उनीहरूलाई लैजाने दलालहरू भने सधैँ फरार हुने गरेका छन् ।