2024-05-11-02-04-32.jpeg)
बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुईतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए ।
उनका अनुसार अहिले सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका– १ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरू अलपत्र छन् ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३, रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १, छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
यी अवरुद्ध सडकलाई एकतर्फी खुलाइयो
धनकुटाका साँगुरीगढी गाउँपालिका– ५ को रवि–राँके–भेटेटार सडक एकतर्फी खुलाइएको छ । यस्तै, काभ्रेको धुलिखेल नगरपालिका– ११, बाँझोखेतमा बाढीले अवरुद्ध पारेको बिपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ । यस्तै, चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका ६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालीगण्डकी करिडोर एकतर्फी खुलाइएको छ । जुम्लाको सिँजा गाउँपालिका– २ चुलेल गाउँमा पहिरोले अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ ।