
कास्की र नवलपुरले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताअन्र्तगत समुह ‘बी’को पहिलो खेलमा कास्कीले पर्वतलाई २० र दोस्रो खेलमा नवलपुरले गोरखालाई ९१ रन अन्तरले पराजित गरेका हुन्।
वर्षाका कारण पहिलो खेल १३ ओभरमा झारिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०८ रनको योगफल तयार गरेको थियो। १०९ रनको मध्यम लक्ष्य पाएको पर्वत १३ ओभरमा चार विकेट गुमाएर जम्मा ८८ रनमा सिमित भयो।
कास्कीका लागि प्लेयर अफ द म्याचसमेत भएका सफल श्रेष्ठले ४०, ओपनर अर्जुन कुमालले २३ रन बनाउँदा पर्वतका रोशन गौतमले ३५, सन्देश खड्काले १२ र अभिषेक थापाले १० रन जोडेका थिए। खेलमा पर्वतका अमृत गुरुङले तीन ओभर खेल्दै २५ रन खर्चेर तीन, रोशन गौतमले दुई, राजु थापाले एक विकेट हात पार्दा कास्कीका सिब्रिन श्रेष्ठले दुई तथा कृष्ण पौडेल र सुभाष भण्डारीले समान एक एक विकेट हात पारे।
दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको नवलपुरले २० ओभरमा आठ विकेट गुमाएर १४३ रन जोडेको थियो। १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको गोरखा १५.२ ओभरमा सवै विकेट गुमाएर ५२ रनमा समेटियो।
नवलपुरका लागि रिजन काफ्लेले ३७, अपराजित पौडेलले २६, सुदीप अर्यालले २१ रन बनाउँदा गोरखाका कप्तान गौरव पौडेल १६ रन बनाए। गोरखाका युनिश थापाले तीन, स्वरुपराज श्रेष्ठ र मेहुल श्रेष्ठले समान दुई दुई विकेट हात पार्दा नवलपुरका स्विकार श्रेष्ठ र म्यान अफ दि म्याच समेत रहेका कमल परियारले समान तीन तीन विकेट हात पारे। अपराजित पौडेलले दुई विकेट लिए।
शनिबारदेखि सुरु प्रतियोगितामा मंगलबारदेखि समुह ‘बी’ का खेलहरु सुरु भएको प्रतियोगिताका संयोजक ऋषीराम गौतमले जानकारी दिए। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा प्रदेशका ११ मध्ये आठ जिल्ला सहभागी छन्। सहभागि टोलीमध्ये समूह ‘ए’मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहदा समूह ‘बी’मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन्। समुह ‘ए’बाट स्याङजाले फाइनलको यात्रा तय गरिसकेको छ।
प्रतियोगिताअन्र्तगत बुधबार पहिलो खेलमा पर्वत र नवलपुर भिड्दा दोस्रो खेलमा कास्की र गोरखाले प्रतिस्पर्धा गर्नेछन्।