
उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रमा पटक-पटक विद्युत् कटौती भएको भन्दै स्थानीयले विद्युत् प्राधिकरण गाईघाट शाखाको कार्यालय घेराउ गरेका छन्।
गएको हप्तादेखि पटक-पटक विनाजानकारी विद्युत् कटौती हुन थालेपछि प्राधिकरणको कार्यालय गाईघाटलाई नियमित विद्युत् दिन माग गर्दै स्थानीयले आज मंगलबार कार्यालय घेराउ गरेका हुन्। विद्युत् प्राधिकरण घेराउ कार्यक्रममा गाईघाट बजारलगायतका स्थानीयको सहभागिता थियो।
विद्युत् कटौतीले मारमा परेको भन्दै त्रियुगा नगरपालिका–३ मा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रका प्रतिनिधि पनि घेराउमा सहभागी थिए। भुल्के क्षेत्रमा धेरै लामो समय विद्युत् कटौती हुने गरेकाले कार्यालय घेराउ गर्न आएको उपचार केन्द्रका सचिव यदुप्रसाद ढकालले बताए।
ढकालले भने, ‘घेराउपछि विद्युत् प्राधिकरणका प्रमुख माधवप्रसाद यादवले नियमिति विद्युत् दिने प्रतिबद्धता जनाउनुभएको छ।’ विद्युत् कटौतीले गर्दा होटेल व्यवसाय गर्नेहरूको फ्रिजमा राखेका सामग्री बिग्रिएर नष्ट हुने गरेको गुनासो छ। विद्युतीय सामानहरू बिग्रने गरेका छन्।
विद्युत् प्राधिकरण गाईघाटका प्रमुख माधवप्रसाद यादवले गएको हप्तादेखि विद्युतका तारहरूमा फल्ट हुने र विभिन्न उपकरणमा चट्याङलेसमेत क्षति पुर्याएकाले कटौती भएको जानकारी दिए।
उनले भने, ‘घेराउ गर्न आउनुभएका उपभोक्तालाई नियमित विद्युत् उपलब्ध गराउन लागिपरेको छु। हावाहुरी, चट्याङले समस्या पुर्याएको छ। भुल्के क्षेत्रमा नियमित गराउने प्रयास जारी छ। मेरो प्रतिबद्धता पनि छ।’
उनले हावाहुरी, चट्याङको समस्याले विद्युत् आपूर्ति हुने ३३ केभी लाइनमै समस्या आउने गरेको भन्दै सो समस्या समाधान गरेपछि विद्युत् कटौती नहुने गरेको बताए। यादवले हावाहुरी पानीसँगै हुने क्षति र उक्त क्षतिबाट विद्युतमा हुने फल्ट पत्ता लगाउन समस्या हुँदा लामो समय विद्युत् कटौती भएको उल्लेख गरे। उपभोक्ताले भने सेटिङमा लोडसेडिङ गरेको आरोप लगाउँदै आएका छन्।