
संखुवासभाको खाँदबारी नगरपालिका– ४ को कार्यालयबाटै विद्युतको महसुल तिर्न सुरु गरिएको छ।
सोमबार एक कार्यक्रमबिच खाँदबारी नगरपालिका– ४ को अरुणथानस्थित कार्यालयमा विद्युत् महसुल तिर्ने काउन्टरको उद्घाटन गरिएको हो। खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया र विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शत्रुधन यादवले उद्घाटन गरे।
नगर प्रमुख थपलियाले आफूले निर्वाचनताका नै वडास्तरमा विद्युतको महसुल तिर्ने सुविधा उपलब्ध गराउने प्रतिबद्धताअनुसार नै काम गरेको बताए। उनले यसअघि नै खाँदबारी नगरपालिकाभित्रका दुर्गम वडाहरूमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कामसमेत सुरु भइसकेको बताए।
एकीकृत रूपमा वडास्तरमा नै विद्युत्, खानेपानी र सामाजिक सुरक्षा भत्ता वितरणलगायतका सुविधाहरू उपलब्ध गराइएको नगर प्रमुख थपलियाको भनाइ छ। खाँदबारी– ४ का वडाध्यक्ष विनोदकुमार गुरुङले वडास्तरमा नै विद्युतको महसुल तिर्ने सुविधा उपलब्ध भएपछि सुविधा पाएको बताए। सदरमुकाम खाँदबारीसम्म पुगेर ३० रुपैयाँको बिजुलीको बिल तिर्न पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष गुरुङले बताए।
खाँदबारी– ४ मा पहिलो सेवाग्राहीको रूपमा धनबहादुर विश्वकर्माले विद्युतको महसुल बुझाए। एकै दिन ४४ जनाबाट ११ हजार ७४५ रुपैयाँ संकलन भएको थियो।
विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शत्रुधन यादवले स्थानीयको मागअनुसार वडास्तरमा नै विद्युतको महसुल संकलन गर्न काउन्टर स्थापना गरिएको बताए। उनले ४ नम्बर वडामा हप्ताको दुई दिन आइतबार र सोमबार महसुल संकलन गर्न कर्मचारी पठाइने बताए।
खाँदबारी नगरपालिकाभित्रका दुर्गम वडाहरू ४ नम्बरका साथै १० र ११ नम्बर वडामा समेत चाँडै विद्युतको महसुल संकलन गर्ने काउन्टर स्थापना हुने जनाइएको छ। खाँदबारी नगरपालिकाभित्र ११ वटा वडाहरू छन्।