
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड, क्व्होँलासोँथार गाउँपालिका, मर्स्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दी हुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ ।
गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न कार्यक्रम तय गर्दै प्रवर्द्धनात्मक खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजंग गुरुङले जानकारी दिए ।
संघको आयोजनामा यसअघि पहिलो चरणमा कास्कीको ताङतिङ हुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कोरी क्होँलासोँथर, कर्पु हुँदै याङ्जाकोटसम्म खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको थियो ।
‘यस पदमार्गमा ठाउँठाउँमा टी हाउससहितका पूर्वाधार, खानेपानीको व्यवस्थासँगै सञ्चार सम्पर्क सहज हुने किसिमका व्यवस्था गरिनु जरुरी देखिन्छ,’ संघका अध्यक्ष किसमकुमारी गुरुङले भनिन् ।
खोज तथा अनुसन्धानका चरणसँगै आगामी सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । गुरुङ सम्पदा पदमार्गमा समेटिएका ऐतिहासिक गुरुङ गाउँहरूका प्राचीन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय रूपमा भरपूर उपयोग हुनुपर्ने उनले बताए ।
पदयात्राका क्रममा उक्त क्षेत्रमा सञ्चार सम्पर्कको विद्यमान अवस्थाबारे स्थलगत प्राविधिक अध्ययन गरिएको थियो । अध्ययनका क्रममा कतिपय स्थानमा सञ्चारसम्पर्क विहीनताको अवस्था रहेको पाइएको छ ।
खोज अन्वेषण पदयात्रामा ४८ जनाको सहभागिता थियो । पदमार्गमा ठाउँठाउँमा खोला तथा मनोरम पोखरीसँगै ठुलाठुला खर्क र पाटन रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने जनाइएको छ । पदमार्गमा भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔँले, वनलसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानीअनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै पदयात्रा गर्न सकिने जनाइएको छ ।
पदमार्गमा पर्ने गुरुङ गाउँहरूमा घरवास सञ्चालनसँगै घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा छन् । घरवासमा आएका पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरिएको सिउरुङ सामुदायिक होमस्टेका सञ्चालिका सन्तकाशी गुरुङकाे भनाइ छ।