
म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।
अन्नपूूर्ण गाउँपालिका–५, स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपालि २०० लिटर मात्र मह उत्पादन भएको बताए । पाइजाको टोलीले स्वाँत गाउँनजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो ।
धौलागिरिको गुुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूूर्णको हिस्तानमा रहेका भिरमा मह सिकार गर्न गएका सिकारी टोलीहरूले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीच भागमा भिरमौरीको बासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन् ।
डोरीको सहायताले डरलाग्दो भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्द्धक मानिने भिरमह धार्मिक कार्यका लागि पनि प्रयोग हुुन्छ ।
महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिए पछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् मौरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।
मौरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ ।