
बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
ढोरपाटन–सालझन्डी सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ५, बतासेडाँडामा लु.प्र. ०१–००१ च १७७५ नम्बरको जिप साँझ सवा ५ बजेको समयमा दुर्घटना भएको हो। बुर्तिबाङ बजारदेखि सहीखोलातर्फ जाँदै गरेको जिप सडकदेखि अन्दाजी ५०–६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक केशव थापाले जानकारी दिए।
जिपमा चालकसहित १६ जना सवार रहेको बताइएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर, नाैजनाको अवस्था मध्यम र एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ। घाइतेको उद्धारका निम्ति इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीसमेत घटनास्थल पुगेको छ।