
ताप्लेजुङको मिक्वाखोला नगरपालिका– ५, पापुङका तेन्जिङ शेर्पाले पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन् । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन् । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गरे । उनले चिराइतो प्रतिमन ४० हजारमा बिक्री गरे ।
त्यस्तै, फक्ताङलुङ गाउँपालिका– ६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्छन् । उनले मुख्यबालीका रूपमा चिराइतो खेती गर्दै आएका छन् । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा तीन हजार २८० किलो चिराइतो उत्पादन भएको थियो । यसबाट रु. ४९ हजार राजस्व संकलन गरिएको थियो ।
आर्थिक वर्ष ०८०/८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो । यसबाट एक लाख आठ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आवको हालसम्मको तथ्यांकअनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ । यसबाट हालसम्म रु. ७५ हजार राजस्व संकलन भएको वन अधिकृत परमेश्वर पासवानले जानकारी दिए ।
वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्त्वको मानिन्छ । यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ । ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार संकलन गरी वन नियमअनुसार बिक्री गर्दा राजस्व संकलन हुँदै आएको छ ।
नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।
चिराइतो एकपटक लगाएपछि बर्सेनि लगाउनुपर्दैन । पाकेको चिराइतोको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बिउ लाग्ने गरेको छ । रासस