
प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।
आज सवा ३ बजेलाई तोकिएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको थियो। त्यसअघि दिउँसो १ बजेलाई तोकिएको बैठक ‘विशेष कारण’ भन्दै संसद् सचिवालयले सवा ३ बजेलाई सारेको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि करिब दुई सातादेखि संसद् अवरुद्ध हुँदै आएको छ। अख्तियारको छानबिनमा हस्तक्षेप नहुने गरी उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको मध्यमार्गी प्रस्तावमा पनि सत्तापक्ष सहमत नहुँदा आज पनि संसद् अघि बढ्न सकेन।
प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ।