१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format १६:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हाइअल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

मुस्ताङको घरपझोङ गाउँपालिका– ५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाइअल्टिच्युड तथा माउन्टेन वारफायर’सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् । मुस्ताङमा बर्सेनि हाइअल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालय काठमाडौंले जनाएको छ । मुस्ताङमा हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जंगी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो । 

स्थापनाको ५०औँ वर्ष पूरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिब सात हजारजनाले आधारभूत तालिम प्राप्त गरिसकेको र दुई हजार पाँच सयजनाले हाइअल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

नेपाली सेनाअन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् । प्रवक्ता बस्नेतका अनुसार मुस्ताङबाट हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पूरा गरेका शिक्षार्थीमध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन् । मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ ।

नेपाली सेनाले बर्सेनि यसप्रकारको आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको आधारभूत तालिम कोर्स चार–पाँच महिनासम्म हुने र एडभान्स तालिम आवश्यकता तथा औचित्यताका आधारमा निर्धारण हुने सैनिक प्रवक्ता बस्नेतले बताए। नेपाली सेनाले पर्वतीय क्षेत्रअन्तर्गत मुस्ताङमा समुद्री सतहको दुई हजार पाँच सय मिटरको उचाइदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा हाइअल्टिच्युड आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । हिमाली तथा उच्चपहाडी युद्धकला, चट्टान कला, हिमकला, रिभर कलालगायत सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास तालिम दिइने गरिएको छ । नेपाली सेनाले तालिम अवधिमा वातावरण प्रदूषण घटाउन तथा जलवायु संकट न्यूनीकरण गर्ने उद्देश्यले हिमाल तथा पर्वतीय क्षेत्रमा भएका फोहोरमैलाको समेत व्यवस्थापन गर्ने गरेको छ । नेपाली सेनाले बर्सेनि सफा हिमाल अभियान सञ्चालन गर्ने गरेको छ ।

नेपाली सेनाअन्तर्गत सैनिक उच्च शिखर शिक्षालय मुस्ताङले बर्सेनि आधारभूत तालिम समापन भएलगत्तै एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको एडभान्स तालिममा नेपाली सेनाका शिक्षार्थीसहित विभिन्न मुलुकका शिक्षार्थी सहभागी हुने गरेका छन् । यसै प्रयोजनका लागि मुस्ताङमा जेठ ११ देखि सेनाको हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । तालिममा देशभरका करिब १४० भन्दा बढी सैनिक शिक्षार्थी सहभागी भएका छन् । आज जोमसोमस्थित कालीगण्डकी नदीमा बन्दोबस्तीका सामान प्रयोग गरी शिक्षार्थीलाई रिभर क्रसिङका विभिन्न विधाको अभ्यास प्रशिक्षण गराइएको छ ।