
मधेश प्रदेशका अदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । अदित्य छात्र तथा प्रकृति छात्रामा पहिलो भएका हुन् । दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रकृतिले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् ।
चार सय मिटर छात्र दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् ।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । सोही स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भएका छन् । जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले दुई स्वर्ण जितेको छ । कोशी, गण्डकी, मधेश र लुम्बिनीले समान एक स्वर्ण जितेका छन् ।