
१५ जेठ बिहान सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदीमा बगिरहेको अवस्थामा फेला परेको मोटर गाडीमा प्रयोग हुने ट्युबबाट २ सय किलोग्राम गाँजा बरामद गर्यो। उक्त गाँजा पहाडी जिल्ला धनकुटातर्फबाट कोशी नदीमा ट्युबमा बगाएर भारततर्फ लैजान लागिएको थियो।
सोही दिन अपराह्न भारतको जोगबनीबाट कुकुरको प्रयोग गरेर लागुऔषध ल्याउँदै गर्दा मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परे। उनले कुकुरको घाँटीमा लगाउने बेल्टमा ३.३६ ग्राम ब्राउनसुगर र ३५ ट्याब्लेट नाइट्राजेपाम लुकाएर ल्याएका थिए। भारतीय बजारबाट कुकुर लिएर आइरहेका उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा साँझ ५ बजेतिर प्रहरीले पक्राउ गरेको थियो।
यसैगरी, २१ जेठमा सुनसरी प्रहरीले खोलाको बगरमा बालुवाले पुरेर ३८ वटा बोरामा लुकाएर राखेको एक हजार १२० किलो गाँजा हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमानाबाट बरामद गर्यो। बरामद गाँजा पहाडबाट ल्याएर भारत तस्करी गर्नका लागि सीमा क्षेत्रमा बालुवामा लुकाएर राखिएको थियो।
माथिका तीन घटनाहरु प्रतिनिधि उदाहरण मात्र हुन्। कोशी प्रदेशमा लागुऔषध ओसारपसार गर्नेहरूले ‘चोरीका हजार जुक्ति ’ उखानलाई चरितार्थ गर्ने गरेका देखिन्छ। भारतबाट नेपालतर्फ मेडिकल र केमिकल ड्रग्स ल्याउँदा होस् वा नेपालबाट प्रतिबन्धित गाँजा भारततर्फ लैजाँदा होस्, नयाँनयाँ जुक्ति लगाएर ओसारपसार गर्नेहरू प्रहरी छल्न सक्रिय भइरहन्छन्।
प्रहरीका अनुसार लागुऔषध तस्करी गर्नेहरुले कहिले निजी भ्यान र जिप त कहिले मोटरसाइकलमा लुकाइछिपाई तस्करी गर्ने गरेका छन्। कसैले जिउमा बेरेर भारततर्फ लैजान्छन् भने कसैले तरकारी र सरकारी गाडीको पनि प्रयोग गर्ने गरेका पाइन्छ। टायर ट्युबमा लुकाएर र पानीमा बगाएको बाँसमा लुकाएर पनि गाँजा भारत तस्करी गर्न लागेको प्रहरीले फेला पारेको छ।
यस्तै, भकुन्डो तथा बन्दागोभी, फर्सी र करेलाजस्ता तरकारीभित्र पनि लागुऔषध लुकाएर नेपाल ल्याउने गरेका छन्। प्रहरीका अनुसार केहीले गुप्तांगमा समेत लुकाएर लागुऔषध ल्याउने गरेका छन्।
कोशी प्रदेश प्रहरीका अनुसार दैनिक औसत तीनजना भारतबाट लागुऔषध ओसारपासार गरेको आरोपमा पक्राउ पर्ने गरेका छन्। आर्थिक वर्ष ०७८/७९ मा २ केजी ४५७ ग्राम ब्राउनसुगर र एक हजार १५७ जना मानिस पक्राउ परेका थिए। ०७९/८० मा २ केजी ८० ग्राम ब्राउनसुगरसहित एक हजार ५८६ जना पक्राउ पर्दा ०८०/८१ म ३ केजी १८० ग्राम ब्राउनसुगर बरामद भएको थियो। आव ०८१/८२ को चैत मसान्तसम्म २ केजी ८४० ग्राम ब्राउनसुगर र एक हजार ५१६ जना पक्राउ परेका छन्। प्रदेशमा आर्थिक बर्ष २०७९/०८० मा ७८९, ०८०/८१ मा १०३९ र ०८१/८२ को चैतसम्म ९९६ वटा लागुऔषधका मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ।