१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format o९:४९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

काकाकुल सहर बन्ने जोखिममा काबुल

पानीको दोहन अहिले प्रत्येक वर्ष ४.४ करोड घनमिटरभन्दा बढी छ । यही क्रम जारी रहे काबुलका सबै जलभण्डार सन् २०३० को सुरुसम्ममा सुकिसक्नेछन् । परिणामस्वरूप यस सहरका ७० लाख बासिन्दाको अस्तित्व नै खतरामा पर्नेछ ।

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४९:oo

अफगानिस्तानको राजधानी काबुल पूर्ण रूपमा पानी सकिने पहिलो आधुनिक सहर बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । गैरसरकारी संस्था मर्सी कोप्र्सको रिपोर्टअनुसार, द्रुत सहरीकरण र जलवायु परिवर्तनका कारण विगत एक दशकमा काबुलको जलभण्डारको स्तर ३० मिटरसम्मले घटिसकेको छ ।जलभण्डारको स्तर घटेकाले काबुलवासीको मुख्य पानीको स्रोत रहेको हातेपम्पमध्ये आधा पम्पमा पानी आउन छाडेको छ । पानीको दोहन अहिले प्रत्येक वर्ष प्राकृतिक रिचार्ज दरभन्दा ४.४ करोड घनमिटरले बढी छ । यदि यही प्रवृत्ति जारी रह्यो भने काबुलका सबै जलभण्डार सन् २०३० को सुरुसम्ममा सुकिसक्नेछन् । परिणामस्वरूप यस सहरका ७० लाख बासिन्दाको अस्तित्वमा खतरा खडा हुनेछ ।  

‘यस संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय जगत्को ध्यान जानु आवश्यक छ,’ मर्सी कोप्र्स अफगानिस्तानका राष्ट्रिय निर्देशक डेन करीले भने, ‘पानीविना मानिस यहीँ बसिरहन सक्दैनन् । उनीहरूले आफ्नो समुदाय छोड्नुपर्ने हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको पानीको सम्भावित समस्या सम्बोधन गर्न ध्यान दिएनन् भने ठुलो बसाइँसराइ निम्तिनेछ ।’ पानी अभावमा  काबुल काकाकुल सहर बन्ने जोखिममा रहेको उनी बताउँछन् । 

मर्सीको अध्ययन प्रतिवेदनले पानीको प्रदूषणलाई अर्को व्यापक चुनौतीको रूपमा प्रकाश पारेको छ । काबुलको सतहमा पाइने पानीको स्रोतमध्ये अर्थात् नदी, ताल आदिमध्ये ८० प्रतिशम्म असुरक्षित मानिन्छ । तिनमा ढल, उच्च नुन र आर्सेनिकको परिणाम भेटिएको छ । यसले गर्दा काबुलका मानिसका लागि पानीको पहुँच दैनिक लडाइँ बनेको छ । केही घरपरिवारले आफ्नो आम्दानीको ३० प्रतिशतसम्म पानीमा खर्च गर्छन् । दुईतिहाइभन्दा बढीले पानीकै कारण ऋण लिने गरेको पाइएको छ ।

राजधानी सहरका प्रायः हरेक मानिसले पानीको समस्या सामना गरेका छन् । अझ कम आय भएका परिवार यो समस्याबाट सबैभन्दा बढी प्रभावित छन् । ‘अफगानिस्तानले एकैपटक धेरै समस्या सामना गरिरहेको छ । तर, पानी अभाव तीमध्ये सबैभन्दा गम्भीर हुन सक्छ,’ काबुलको खैरखाना बस्तीमा बस्ने शिक्षिका नाजिफाले भनिन्,‘हरेक घरपरिवारले यो समस्या झेलिरहेको छ । विशेष गरी, कम आय भएका मानिस अझ बढी प्रभावित छन् ।’ केही निजी कम्पनीले यस संकटबाट फाइदा उठाउने प्रयास गरेका छन् । तिनले तीव्र रूपमा नयाँ इनार खनेर वा जमिनमुनिबाट ठुलो परिणाममा पानी निकालेर महँगो मूल्यमा सहरवासीलाई पानी बेचिरहेका छन् । तर, विक्री गरेको पानीले सर्वसाधारणको माग पूरा गर्न सकेको छैन् । यसले पानीको स्रोतको दोहन मात्र गरिरहेको छ ।  यही प्रवृत्ति रह्यो भने राजधानीका सबै जलभण्डार चाँडै सुक्नेछन् । 

‘पहिले हामीले पानीट्यांकरबाट क्यान भर्न हरेक १० दिनमा ५०० अफगानी (५.३० पाउन्ड) तिथ्र्यौँ । अहिले, त्यति नै पानीका लागि हामीलाई १,००० अफगानी तिर्नुपर्छ,’ नाजिफाले भनिन्, ‘पछिल्लो केही हप्तामै अवस्था निकै खराब हुँदै गएको छ । पानीको रकम अझै महँगो होला भन्ने डर छ ।’सन् २००१ मा काबुलको जनसंख्या १० लाख थियो । १५ वर्षभित्रै यसको जनसंख्या सात गुणाले बढेर झन्डै सत्तरी लाख पुगेको छ । तीव्र जनसंख्या वृद्धिले पानीको मागलाई ह्वात्तै बढाइदियो । केन्द्रीकृत शासन प्रणाली र नियमनको अभावले पनि दशकौँदेखि समस्यालाई बढाउँदै लगेको छ र यसको मारमा सर्वसाधारण परेका छन् ।

सन् २००१ मा काबुलको जनसंख्या १० लाख थियो । १५ वर्षभित्रै जनसंख्या सात गुणाले बढेर झन्डै ७० लाख पुगेको छ । जनसंख्याको तीव्र वृद्धिले पानीको माग ह्वात्तै बढेको छ । केन्द्रीकृत शासन प्रणाली र नियमनको अभावले पनि दशकौँदेखि यस समस्यालाई बढाउँदै लगेको छ ।

सन् २०२५ को सुरुमा, मानवीय विषय समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले अफगानिस्तानमा योजनाबद्ध पानी र सरसफाइ कार्यक्रमका लागि २६.४ करोड डलर आवश्यक पर्ने बताएको थियो । जबकि कार्यक्रमका लागि यसका साझेदारहरूले केवल ८४ लाख डलर मात्र प्राप्त गरेका कार्यालयले जानकारी दियो । सन् २०२१ को अगस्ट मा तालिबान समूह सत्तामा फर्किएदेखि अन्तर्राष्ट्रिय पानी र सरसफाइ कोषमा रहेको अफगानिस्तानको तीन अर्ब डलर फ्रिज भएको छ । अमेरिकी दातृ निकाय युएसएआइडीको ८० प्रतिशतभन्दा बढी रकम कटौती गर्ने हालैको कदमले संकटलाई अझ जटिल बनाएको छ ।

‘सबै कुरा धेरै मात्रामा सहायतामै निर्भर छन्,’ करीले भने,‘हामीले छोटो समयका लागि लाखौँ डलर खर्च गरेर पानीको समस्या केही समाधान गर्न सक्छौँ । तर, दीर्घकालीन समाधान नभएसम्म समस्या फेरि बल्झिएर आउनेछ । तर, राजनीतिक गतिशीलताका कारण अहिले विदेशी सरकारहरू सहयोग गर्न आइरहेका छैनन् ।’ नाजिफाका अनुसार पानी अफगानिस्तानको मानव अधिकार र प्राकृतिक स्रोत हो । यसलाई राजनीतिक मुद्दा बनाइनु हुँदैन । ‘जब म बगैँचामा फूल र फलफूलका रुख सुक्दै गएको देख्छु, मेरो मन चिसो भएर आउँछ । तर, हामी कही गर्न सक्ने अवस्थामा छैनौँ । देशमा सैन्य शासनजस्तो सरकार छ । त्यसैले हामी समस्या लिएर सरकारकहाँ जान पनि सक्दैनौँ ।’

हाल चर्चामा रहेको पन्जशिर नदी पाइपलाइन परियोजना पूरा भएमा सहरको भूजलमाथिको अत्यधिक निर्भरता घट्नेछ । परियोजनाले सहरका २० लाख बासिन्दाहरूलाई पिउनेपानी आपूर्ति गर्न सक्ने बताइएको छ । परियोजनाको डिजाइन चरण सन् २०२४ को अन्त्यमा पूरा भएको थियो । अहिले सरकारले परियोजनाको १७ करोड डलरको खर्च उठाउन थप लगानीकर्ताहरू खोजिरहेको छ ।

‘हामीसँग बजेटको पर्खाइमा बस्ने समय छैन । हामी यस्तो आँधीमा फसेका छौँ, जहाँबाट तुरुन्तै कदम चालेनौँ भने फर्कने कुनै सम्भावना छैन,’ जलस्रोत व्यवस्थापन विषयका शीर्ष अनुसन्धानकर्ता तथा अफगान पानी–वातावरण व्यवसायी सञ्जालका सदस्य डा. नजिबुल्लाह सादिदले भने । ‘काबुलमा बस्नेहरूका लागि अहिले खाना वा पानीमध्ये एक छनोट गर्नुपर्ने विकल्प आइपरेको छ । हामीले कुरा गरेका स्थानीयहरू अझै पनि दिगो समाधानका लागि आफूसँग भएको थोरै रकम लगानी गर्न इच्छुक छन् । तत्काल प्रभाव पार्ने जुनसुकै परियोजनालाई पहिलो प्राथमिकता दिइनुपर्छ । हामीले कतै न कतैबाट काम सुरु गर्नुपर्छ,’ डा. सादिदले भने ।
–द गार्जियनबाट