१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
निधि काठमाडाैं
२o८२ जेठ २४ शनिबार ११:३६:oo
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

मातृत्वको मौन विद्रोह 

कति चर्को हुन्छ होला त्यो मौन वेदना, जब आमा बन्ने सपना समाजको तिरस्कारले चकनाचुर पार्छ !

Read Time : > 4 मिनेट
निधि काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २४ शनिबार ११:३६:oo
  • आमा केवल एउटा शब्द नभई आफैँमा अर्थपूर्ण वाक्य हो, जसलाई उच्चारण गर्दा मात्र मुटु नै न्यानो हुन्छ । त्यो केवल सन्तान जन्माउने हैसियत होइन, त्यो त माया, त्याग र न्यानोपनको अर्को नाम हो । 

‘आमा’ भन्नासाथ सबैको मानसपटलमा एउटा कोमल चित्र आउँछ– जसले माया गर्छिन्, त्याग गर्छिन्, सन्तानका आँसु पुस्छिन्, अनि सधैँ सन्तानको खुसीमा आफ्नो सारा संसार देख्छिन् । संस्कृतमा एउटा वाक्य भनिएको छ ‘मातृ देवो भवः अर्थात् आमाको स्थान देवीसरह छ । ममता, माया इत्यादिजस्ता शब्द, जसलाई स्मरण गरेर निर्माण भएका छन्, ती व्यक्ति हुन्, आमा । तर दुर्भाग्य, यो समाज र कानुनले ‘आमा’ बन्ने हक सबैलाई दिएको छैन ।

म आमा बन्न चाहन्छु, तर मेरो शरीरले मलाई त्यो अनुमति दिएको छैन । समाजले मलाई ‘आमा’ भन्न पनि हिच्किचाउँछ, मानौँ मातृत्व केवल शारीरिक क्षमताको आधारमा मात्र हो । तर, के आमाको परिभाषा यत्तिमै सीमित हुन्छ ? म जन्म दिन सक्दिनँ, तर म निःस्वार्थ, निःसर्त र न्यानो माया दिन सक्छु । म कोखको माध्यमबाट जीवन सृष्टि गर्न सक्दिनँ, तर काखको कोमलताको माध्यमबाट जीवन सजाउन सक्छु । यो समाजमा शरीर हेरेर मातृत्व मापन हुँदो रहेछ, तर यो समाजले हृदय पनि हेरोस्, किनकि मातृत्व एउटा भावना हो, अनुभूति हो, जुन शरीरभन्दा धेरै गहिरो हुन्छ ।

यो भावना हो, वर्षौंदेखि हाम्रै समाजमा बसिरहेको एक समुदायको व्यक्तिको, जो आफ्नो पीडा बिर्सेर हाम्रो खुसीमा सामेल हुन सदैव तत्पर हुन्छन्, ‘तेस्रोलिंगी वा पारलैंगिक समुदाय’ । यहाँ तेस्रोलिंगी र पारलैंगिक समुदाय किन भनिएको होला भन्ने प्रश्न हुन सक्ला । वास्तवमा हाम्रो परम्परागत समाजले उहाँहरूको अस्तित्व कहिल्यै स्विकार्न चाहेन, परिणामस्वरूप उनीहरू छुट्टै समुदाय बनाएर बस्न बाध्य भए र समाजमा बसे पनि समाजको हिस्सा भएनन् । एकपटक मनन गर्नुहोस्, कति गहिरो पीडा हुन्छ होला, जब माया दिन सक्ने काखलाई केवल कोख नदिएको कारणले अस्वीकार गरिन्छ । कति चर्को हुन्छ होला त्यो मौन वेदना, जब आमा बन्ने सपना समाजको तिरस्कारले चकनाचुर पार्छ ?

६ पुस ०६५, सुनीलबाबु पन्तविरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको रिट निवेदनमा सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अस्तित्व स्वीकार गरी दक्षिण एसियाकै पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यकमैत्री देश बन्यो । तर, फैसला भएको १७ वर्ष नाघिसक्दासमेत यौनिक तथा लैंगिक अल्पसंख्यकका पीडा उही छन् । अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पश्चिमीकरणको प्रभावको संज्ञा दिएर उपेक्षा गरिन्छ । तर, महाभारत कालखण्डलाई स्मरण गर्ने हो भने गंगापुत्र भीष्म पितामहलाई इच्छामृत्युको वरदान थियो । उनको मृत्यु नभएको भए सायद पाण्डवले कौरवसँगको युद्ध जितेर धर्मयुगको स्थापना गर्न गाह्रो हुन्थ्यो होला । तर, ‘शिखण्डी’, जो एक यौनिक तथा लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्ने पात्र थिइन्, तिनको सहायताले नै पाण्डवले भीष्म पितामहलाई घायल बनाई युद्ध जित्न सफल भएका थिए । 

शिखण्डी, केवल एक पात्र नभई इतिहासमा तेस्रोलिंगी र पारलैंगिकको आत्मविश्वास, बल र अस्तित्वकी प्रमाण हुन् । शिखण्डी राजाका घरमा जन्मी हुर्केका कारण त्यति पीडा र संघर्षको सामना गर्न नपरेको होला, जति पीडा आज एउटा तेस्रोलिंगी र पारलैंगिकले आफ्ना जीवनका पाइला–पाइलामा सामना गर्नुपरेको हुन्छ । आफ्नै अन्तर आत्मासँग सुरु भएको त्यो संघर्ष, परिवार, साथीभाइ, कानुन हुँदै अन्ततः समाजसम्म पुग्छ । त्यसैगरी, हरेक नेपालीको घर–घरमा एक महिनाभर श्रवण गरिने स्वस्थानी व्रतकथामा किन्नर (तेस्रोलिंगी) शब्द कैयौँ ठाउँमा उल्लेख छ । तर, न हाम्रो पाठ्यक्रमले यो पृष्ठभूमिको ख्याल गर्‍यो, न त पाठशालाका भगवान् मानिने गुरुवर्गले नै । जसका कारण हामीले मानिस पुरुष र महिलाबाहेक पनि हुन्छ भन्ने स्वीकार त के, परिकल्पनासमेत गरेनौँ ।

हालै रुक्सना कपालीविरुद्ध नेपाल सरकारसमेत भएको रिटमा, सम्मानित सर्वोच्च अदालतले व्यक्तिको स्वअनुभूतिका आधारमा निजलाई नागरिकता दिन सक्ने भन्ने सिद्धान्त स्थापित गर्‍यो । महिलाको अनुभूति गर्दा महिलाको नाममा नागरिकता प्रदान गर्न सक्ने कानुनले सायद मातृत्वको अनुभूतिबारे परिकल्पना गरेनछ र आज महिलाको स्वअनुभूति गरेका ती तेस्रोलिंगी र पारलिंगीलाई आमा भनेर स्विकार्ने अझै अनुकूल अवस्था छैन । तेस्रोलिंगी र पारलिंगी महिलामा जैविक रूपमा एउटा बच्चा जन्माउने क्षमता हुँदैन र उहाँहरूसँग हुने भनेको धर्मपुत्र वा धर्मपुत्री राख्ने विकल्प हो । तर दुर्भाग्य, नेपालको कानुनले तेस्रोलिंगी र पारलिंगी महिलालाई धर्मपुत्र वा धर्मपुत्री राखी आमा बन्ने अधिकार दिएको छैन ।

मुलुकी देवानी संहिता, २०७४ को दफा १७२ (१) मा विवाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, ४५ वर्ष उमेर पूरा भएको अविवाहिता, विधवा, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला, वा ४५ वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका छोराछोरी नहुने पुरुषले मात्र धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने व्यवस्था गरेको छ । एउटालाई हेरी सबैलाई सामान्यीकरण गर्ने प्रवृत्तिले नेपाली समाजमा तेस्रोलिंगी वा पारलिंगी व्यक्तिप्रति अझैसम्म राम्रो दृष्टिकोण छैन । मानव अधिकार आयोगले गरेको एक अध्ययन प्रतिवेदनमा हाम्रो समाजमा अझैसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक हुनु पूर्वजन्मको पाप हो भन्ने मान्यता विद्यमान रहेको कुरा प्रस्ट्याएको छ । सायद त्यही भएर होला नेपालको कानुनले एउटा तेस्रोलिंगी वा पारलिंगीसमेत आमा हुन सक्छिन् भन्ने परिकल्पना नै गरेन ।

प्रश्न उही दोहोरिन्छ, के एउटा तेस्रोलिंगी वा पारलिंगी महिला असल आमा बन्न सक्दिनन् र ? अवश्य सक्छिन् । विश्वमा धेरै तेस्रोलिंगी र पारलिंगी महिला छन्, जसले बच्चालाई धर्मपुत्र, धर्मपुत्री बनाई असल शिक्षा प्रदान गरी उज्ज्वल भविष्य दिएका छन् । भारतकी गौरी सावन्त, जो एक तेस्रोलिंगी र पारलिंगी समुदायलाई प्रतिनिधित्व गर्छिन्, ले पनि एक छोरीलाई धर्मपुत्री बनाई हुर्काइरहेकी छिन् । नेपालमा पनि सर्लाही जिल्लामा रहेकी राधा मौसी, रोशनी राज र यस्ता कैयौँ तेस्रोलिंगी र पारलिंगी व्यक्ति छन्, जसले धर्मपुत्र वा धर्मपुत्री राखी हुर्काइरहेका छन् । तर, कानुनले उक्त कुराको परिकल्पना गर्न सकेन ।

शरीरले आमा बन्न नदिए पनि, हृदयमा उम्लिएको त्यो मातृत्वको भावना नाप्न मिल्ने भए सायद आज कानुन र समाजसँग एउटा तेस्रोलिंगी वा पारलिंगीले ‘मसँग पनि मातृत्वको भावना छ, मलाई पनि कसैले आमा भनेर सम्बोधन गरेको सुन्न मन छ,’ भन्दै गुनासो गरिराख्नुपर्दैन थियो होला । जब एउटा तेस्रोलिंगी वा पारलिंगी महिलाले आमा बन्ने सपना देख्छिन्, तब त्यो सपना आँसुले पखालिन्छ । त्यो आँसु केवल व्यक्तिगत पीडाले नभई समाजको अस्विकारताले आउँछ । उहाँहरूलाई आमा बन्ने अनुमति न कागजमा छ, न मान्यतामा छ, न त सम्बोधनमै छ ।

आमा केवल एउटा शब्द नभई आफैँमा अर्थपूर्ण वाक्य हो, जसलाई उच्चारण गर्दा मात्र मुटु नै न्यानो हुन्छ । त्यो केवल सन्तान जन्माउने हैसियत होइन, त्यो त माया, त्याग र न्यानोपनको अर्को नाम हो । मातृत्वको अर्थ अझैसम्म जन्म दिने क्षमतासँग मात्र जोडिएको छ, जुन आफैँमा अपूर्ण परिभाषा र मौन अन्याय हो । मातृत्व वास्तवमा प्रेमको चरम रूप, समर्पण, त्याग हो । आफ्नो निद्रा त्यागेर सन्तानको स्वप्न सजाउने साहस नै मातृत्व हो, जुन एउटा तेस्रोलिंगी र पारलिंगी महिलाले समेत गर्छिन् । अब समय आएको छ– जब हामी कोख मात्र होइन, काखलाई पनि मातृत्वको अधिकार दिन सक्नुपर्छ । एकपल्ट एउटा तेस्रोलिंगी वा पारलिंगीलाई ‘आमा’ भनी सम्बोधन गर्दा, आफ्नो सबै पीडा बिर्सेर उहाँको अनुहारमा आएको त्यो अमूल्य मुस्कानको ख्याल गर्नुहोला, त्यो आनन्दको अनुभूति सायदै कहिल्यै कुनै असल कार्य गर्दा आउँछ होला । समाज तब मात्र समुन्नत हुन्छ, जब हरेक स्वर सुनिन्छ, त्यो स्वर चाहे स्त्रीको होस्, पुरुषको होस् या तेस्रो लिंगी वा पारलैंगिकको होस् ।

(लेखक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गर्ने कानुन अध्ययनरत विद्यार्थी हुन् । उनकै आग्रहमा वास्तविक नाम गोप्य राखिएको छ ।)