१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
कालिगण्डकी करिडोर निर्माण ६ महिनाअघिनै सम्पन्न भएपछि सम्मान गर्दै स्थानीय पालिकाका प्रतिनिधि
२o८२ जेठ २४ शनिबार २१:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

कालीगण्डकी करिडोरको बागलुङ खण्ड ६ महिनाअघि नै निर्माण सम्पन्न 

निर्माण कम्पनी ‘कालिका कन्स्ट्रक्सन’लाई सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार २१:१६:oo

पछिल्लो समयमा विकास निर्माणका योजना समयमा सम्पन्न भएका उदाहरण निकै कम छन् । कतिपय आयोजना त पटक पटक म्याद थप गर्दा पनि सम्पन्न नभएर ठेक्का नै रद्द भएका समेत छन् । केही योजना वर्षौदेखि अलपत्र अवस्थामा छन् । यसैबिच देशकै गौरवको आयोजना भनिएको कालिगण्डकी करिडोर बागलुङ खण्ड भने निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने मितिभन्दा ६ महिना अगावै पूरा गरेको छ । 

करिडोरको बागलुङ खण्ड अन्तर्गतको बलेवा–हर्मिचौर खण्डको ४५ किलोेमिटर सडक कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले तोकेकोभन्दा ६ महिनाअघि कालोपत्रे सम्पन्न गरेको हो । 

निर्धारित समयअघि नै काम सकेपछि बागलुङ नगरपालिका र जैमिनी नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाले निर्माण कम्पनीलाई शनिबार सम्मान गरेका छन् । साथै समयमा काम सक्ने वातावरण बनाउन भूमिका खेल्ने कालिगण्डकी करिडोर आयोजना कार्यालयलाई पनि सम्मान गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारीले पनि ठेकेदार कम्पनीले इमान्दारपूर्वक काम गरेको बताइन् । ठेकेदार कम्पनी कालिका क्नस्ट्रक्सनका आयोजना व्यवस्थापन महेश सुवेदीलाई जैमिनीधाममा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सम्मान गरेका हुन् । सो अवसरमा आयोजनाका प्राविधिकहरू, कन्स्ट्रक्सनका प्राविधिक तथा अन्य कर्मचारी समेत सहभागी थिए ।

तीन अर्ब ३३ करोड लागत
आयोजना कार्यालयका अनुसार २६ मंसिर ०७९ मा उक्त सडक खण्डको ठेक्का लागेको थियो । तीन अर्ब ३३ करोडको लागतमा २५ मंसिर ०८२ मा सक्ने सम्झौता थियो । यो खण्डबाहेक हर्मीचौरदेखि रिडीसम्मको सडक अघिल्लो वर्ष नै कालोपत्रे भैसकेको छ । बागलुङको बलेवादेखि मालढुंगासम्मको खण्ड निर्माण भने अझै सकिएको छैन । योजना सफल पार्न जनप्रतिनिधिले पनि ठूलो योगदान पु¥याएको भन्दै यो सम्मानको भागिदार स्थानीय जनप्रतिनिधि पनि भएको आयोजना प्रमुख अधिकारीको भनाइ थियो । 

सबैको सहयोगले तोकिएको समयभन्दा अगाडि काम सकियो
कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर महेश सुवेदीले हर्मिचौर–बलेवा खण्डमा धेरै अप्ठयारा भिर, पहरा रहे पनि निरन्तर सक्रिय र स्थानीयको सहयोगमा ६ महिनाअघि नै काम सम्पन्न भएको बताए । सुवेदीका अनुसार यस खण्डमा कसैको अवरोध नहुँदा समयमै काम सम्पन्न गर्न सहज भयो । काम सम्पन्न गर्नुमा जनप्रतिनिधि र स्थानीयको ठूलो सहयोग रहेको सुवेदी बताउँछन् । 

सडक कालोपत्रे भएपछि १०–१२ घण्टा लाग्ने सडक अब ५ घण्टामा छोटिएको छ । करिडोर खण्डअन्तर्गत मालढुंगा–बलेवा खण्ड भने सुस्त गतिमा काम भएको छ । खड्क कृष्ण जेबी निर्माण कम्पनीले जिम्मा लिएको यस खण्डको काम केही संरचना निर्माणमा मात्र रोकिएको छ । 
कालिगण्डकी करिडोर भारतको सुनौलीदेखि चीनको कोरलासम्म जोड्ने छोटो दुरीको सडकको रूपमा रहेको छ । यो राष्ट्रिय गौरवको आयोजना भएका कारण निर्माणको काम धमाधम भै रहेको छ ।