
उदयपुरको कटारी नगरपालिका– ४ मा रहेको नमुना त्रिवेणी माध्यमिक विद्यालय (१–१२) कृषिमा विद्यार्थीलाई आत्मनिर्भर बनाउने अभियानमा छ। त्यही अभियानअन्तर्गत अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई व्यावसायिक सामूहिक तरकारी खेतीमा आबद्ध गराएको छ।
विद्यालयको प्राविधिकधारतर्फ बालीविज्ञान अध्ययन गरी एसइई दिएर बसेका विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाएर आत्मनिर्भर बनाउने काममा छ। उक्त विद्यालयमा बालीविज्ञान अध्ययन गरी जम्मा ४० जना विद्यार्थीले एसइई दिएका थिए। तिनै विद्यार्थीलाई विद्यालयको झन्डै २५ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेतीमा जोडिएको छ ।
विद्यालयका प्रधानध्यापक बालकृष्ण कार्कीले बालीविज्ञान विषय अध्ययन गरी एसइईको रिजल्टको प्रतीक्षमा बसेको विद्यार्थीलाई कृषि ज्ञान केन्द्र उदयपुर र विद्यालयको सहयोगमा व्यावसायिक तरकारी खेतीमा लगाइएको बताए। उनले भने, ‘दुई तरिका प्रयोग गरेर विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाइएका छौँ । जसमा कृषि ज्ञान केन्द्रको बिउ, मल सहयोग लिएर १५ कट्ठामा र विद्यालयको बिउपुँजी सहयोगमा १० कट्ठामा तरकारी खेतीमा लगाइएको छ ।’
उनका अनुसार ज्ञान केन्द्रको सहयोगमा गरिएको १५ कट्ठाको तरकारी खेतीबाट विद्यार्थीले आम्दानी बाँडेर लिनेछन् भने विद्यालयको बिउपुँजी सहयोगमा गरिएको १० कट्ठाको तरकारी खेतीबाट सय प्रतिशतमा ३० प्रतिशत प्रशिक्षक शिक्षकले र ७० प्रतिशत विद्यार्थीले पाउनेछन् । एसइई दिएर बसेका ४० जनासँगै तरकारी खेतीमा सघाउने अहिले प्राविधिक धारतर्फका बालीविज्ञान विषयका कक्षा ९–१२ मा अध्यनरत विद्यार्थी पनि सहयोगी बनेका छन् । उनी भन्छन्, ‘०७० सालदेखि हामीले विद्यार्थीलाई विद्यालयले बिउपुँजी सहयोग गरेर ५० प्रतिशत दिएर खेतीमा लगाउँदा विद्यार्थीले धेरथोर आफ्नाे लागि खर्च निकाल्ने र व्यावसायिक खेती सिक्ने अवसर पाएका देख्यौँ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहाल उर्फ बादलले विद्यार्थीलाई भोलिका दिनमा आत्मनिर्भर बन्न स्वरोजगार हुने अवसर दिँदै आएको बताए । उनले भने, ‘यस्ता कार्यक्रमले बालीविज्ञानमा सिकेका ज्ञानको पुनर्ताजकी गर्न र व्यावसायिक तरकारी खेतीमा सिकेका प्राविधिक ज्ञान प्रयोग गर्न अवसर मिल्ने रहेछ ।’
विद्यालयले यसभन्दा अघि च्याउखेती र फूलखेती गरेको थियो । त्यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि यसपटक कृषि ज्ञान केन्द्रको सहयोग तरकारी खेती गरिएको दाहालको भनाइ छ । यसपटक विद्यार्थीले विद्यालयको हाताभित्र रहेको जग्गामा भिन्डी, काँक्रा, बोडी, तितेकरेला, लौकालगायतका तरकारी फलाएका छन् । प्राविधिक धारका सहायक प्रशिक्षक दीपेश थापा भन्छन्, ‘भर्खर उत्पादन हुन लागेको छ । बजारको भन्दा केही सस्तो बेच्ने लक्ष्य लिएका छौँ । विद्यार्थीको मिहिनेत राम्रो छ ।’ यसपालि अलि ठुलो परिमाणमा तरकारी उत्पादन भएकाले कटारी, दुधौली र घुर्मीलगायतका बजारसम्म पुग्ने बताइएको छ ।
एसइई दिएर घरमै बसेका विद्यार्थी नवदीप राईले उक्त तरकारी खेतीले पढेको कुरा व्यवहारमा सिक्न पाएकाले खुसी भएको बताए । उनले भने, ‘मेरो क्षेत्र कृषि हो । जागिर पनि कृषिमै खानुपर्छ पाउँदा । नत्र तरकारी खेती गरेर पनि जीवन चलाउन सकिने सिप सिकेको छु।’ विद्यालयका अनुसार विद्यार्थीले २५ कठ्ठा तरकारी खेतीमा समूह बनाएर सामूहिक रूपमा काम गर्ने गरेका छन् । विद्यालय प्रशासनका अनुसार विद्यालयमा ०७० सालदेखि प्राविधिकधारतर्फ बालीविज्ञान पढाइ हुन थालेको हो । हाल ४० जना एसइई दिएर बसेका छन् भने कक्षा ९– मा ४८ जना, १० मा ४८ जना, ११ मा १९ र कक्षा १२ मा २७ जना विद्यार्थी अध्ययनरत छन् । उक्त सामुदायिक विद्यालयमा जम्मा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् ।