
सरकार र यातायात व्यवसायीबिच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबिच वार्ता सुरु भएको गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका छन्। जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ।
उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन्। यात्रुहरू यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बसिरहेका छन्। यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न नौ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिए। रासस