१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
२o८२ जेठ १९ सोमबार १३:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा फालेको अवस्थामा भेटियो नवजात शिशु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १३:१५:oo

सिराहाको धनगढीमाई नगरपालिका– ९, मुसहर्निया गाउँको पश्चिमपट्टि धमिनी थाननजिक आइतबार अपराह्न करिब ४ बजेतिर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ । 

मुसहर्नियास्थित आर.के. मेडिसिटीदेखि करिब ५० मिटर पश्चिमतर्फ पूर्व–पश्चिम लोकमार्गको उत्तरपट्टि धमिनी थाननजिकै न्यानो कपडाले बेरेर छोडेको अवस्थामा नवजात शिशु भेटिएको प्रहरीले जनाएको छ ।

करिब ७/८ दिनअघि जन्मिएको छोरी नवजात शिशु कसैले छोडेर गएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार नवजात शिशु भेटिएलगत्तै स्थानीय प्रहरीमार्फत उद्धार गरी नयनपुर अस्पतालमा उपचार गरिएको छ । ‘उपचारपछि बाल हेल्पलाइनमा खबर गरी आवश्यक प्रक्रियाका लागि प्रहरीले सहजीकरण गरिरहेको छ,’ उनले भने ।
धनगढीमाई– ९ का वडाध्यक्ष प्रकाश योञ्जनले नवजात शिशुको उपचारपछि एक महिलाले आफ्नो ११ महिनाको छोरासँगै दुध चुसाएर राखेको जानकारी दिए ।

उनका अनुसार गाउँका बालबालिका खेल्दै धमिनी थानसँगै रहेको बरको रुखमुनि पुग्दा बच्चा रोएको सुनेपछि गाउँलेहरूलाई खबर भएको थियो । ‘नवजात शिशुलाई लगाइदिएको कपडा हेर्दा सरकारी अस्पतालमा प्रसूति गराउँदा दिइने न्यानो कपडाजस्तो देखिन्छ,’ उनले भने, ‘त्यसको आधारमा धनगढीमाई पूर्वतर्फको कुनै सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएर मुसहर्नियामा ल्याएर छोडेको हुन सक्ने अनुमान गरिएको छ ।’ 

सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बाल हेल्पलाइनमा खबर गरी त्यहीँमार्फत शिशुलाई कसैको संरक्षकत्वमा जिम्मा दिन आवश्यक काम भइरहेको बताए । ‘त्यसमा पालिका तहको बाल कल्याण अधिकारी र नवजात शिशु भेटिएको सम्बन्धित वडा कार्यालयको सिफारिस पनि जरुरी हुन्छ,’ उनले भने ।  

अवैध सम्बन्धबाट जन्मिएको वा छोरी मात्र रहेका बाबुआमाले त्यसरी नवजात शिशु फालेर गएको आशंका गरिएको छ । तथापि, स्थानीय प्रहरीले आमाबुबाको पहिचान, खोजी कार्यसहित आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

छुटाउनुभयो की ?