१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौंं
Invalid date format १३:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्खननको पर्खाइमा तामाखानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

नेपालकै २२ ठुला परम्परागत खानीमध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका– १० राङखानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङखानी क्षेत्र उत्खननको पर्खाइमा छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्‍याएको छ ।

तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय यस्तो देख्न पाइएको छैन । जैमिनी– १०, राङखानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको जानकारी दिए ।  

‘बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो,’ स्थानीय वृद्ध श्रीसले भने, ‘पाखैभरि तामा खनेका डोबहरू छन्, चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्, हामी सुरुङमा हिँडेका छौँ । तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिराले पुरिएको अवस्था छ, उत्खननमा सरकारले जोड दिन आवश्यक छ ।’ 

बागलुङको राङखानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङका प्वाल छन् । जसमध्ये केही सुरुङका प्वाल मेटिन थालेका छन् । राङखानीको डाँडाखानीलगायत क्षेत्रमा १२० वर्षभन्दा अघिसम्म उत्खनन गरिएका तामाखानी यतिवेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेको छैन । 

तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बमबहादुर श्रीसले जानकारी दिए । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको उनले बताए । अहिले पनि तामाका अवशेष रहेकाले सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयले खानी सञ्चालनमा ल्याउँदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने बताएका छन् ।

खानीबाट स्थानीयवासीले आफ्नै सिप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकोमा पछिल्लो प्रविधिको विकासले ठुलो मात्रमा तामाखानी निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए । खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले ठुलो मात्रमा तामा रहेको अनुमान गरिएको छ । 

खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले संघीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए । दमेक र राङखानी क्षेत्रमा खानीको जैमिनी नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । तामा उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाले यस ठाउँको नाम नै राङखानी राखिएको भन्ने चलन छ ।

तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रको खानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट अनुमतिप्राप्त भए पनि एकिन तथ्यांक आउन सकेको छैन । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुंगाखानी पनि छन् । ढुंगाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुन सकेका छैनन् । रासस

छुटाउनुभयो की ?