
युरोपियन फुटबलको सिजन २०२४–०२५ सम्पन्न भएको छ । युरोपकै चर्चित शीर्ष पाँच प्रिमियर लिगका विजेतासमेत टुंगो लागेका छन् । इटालियन सिरी ‘ए’को च्याम्पियन यसै साता मात्र तय भएको हो । अन्तिम खेलमा जित निकाल्दै नेपोली च्याम्पियन बन्यो । फ्रेन्च लिग वान, बुन्डेस लिगा, स्पेनिस ला लिगा र इंग्लिस प्रिमियर लिगका विजेता भने दुई साताअघि निश्चित भइसकेका थिए । इटालीमा नेपोलीले इन्टर मिलानलाई निराश बनाउँदै उपाधि फर्काएको हो । स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई चार अंकले पछि पारी बार्सिलोनाले उपाधि जित्यो । जर्मन बुन्डेस लिगामा पनि बार्यन म्युनिखले आफ्नो प्रत्भुत्व जमायो । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साबिक चारपटकको विजेता म्यानचेस्टर सिटीलाई पछि पार्दै उपाधि जित्यो । फ्रेन्च लिग वामा भने पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्नो अधिपत्य कायम राखेको छ । शीर्ष पाँच प्रिमियर लिगमा विपक्षी पोस्टमा सर्वाधिक गोल गरेका खेलाडीले गोल्डेन बुट पाउँछन् । यसपटकको युरोपियन चर्चित पाँच लिगका गोल्डेन बुट विजेता यस्ता छन् :
केलियन एम्बाप्पे (रियल म्याड्रिड) : २९ गोल
पिएसजीबाट म्याड्रिडमा आएका एम्बाप्पेले पहिलो सिजनमै आफ्नो प्रभाव जमाए । २६ वर्षीय एम्बाप्पेले पहिलो सिजनमै स्पेनिस ला लिगमा सर्वाधिक २९ गोलसँगै गोल्डेन बुट जिते । उनले यो दौडमा बार्सिलोना, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पारे । लेवान्डोस्कीले २५ गोल गरे । ला लिगाको उपाधि बार्सिलोनाले हात पा¥यो । गत सिजनमा रियलले ट्रेबल उपाधि जितेको थियो । यो सिजन रियल उपाधिविहीन भयो । बार्सिलोनाले ला लिगासहित कोपा डेल रेको उपाधि उचाल्यो । ला लिगाको उपाधि जित्दा बार्सिलोनाले ३८ खेलबाट ८८ अंक हात पा¥यो । उपविजेता रियलको ८४ अंक रह्यो ।
ह्यारी केन (बायर्न म्युनिख) : २६
जर्मन क्लब बायर्न म्युनिख गएको दोस्रो सिजनमा इंग्लिसम्यान केनले छाए । इंग्लिस क्लब टोटनह्याममा उपाधिविहीन भएपछि पहिलोपटक उपाधि जित्ने लक्ष्यसका साथ उनी बायर्न पुगे । दोस्रो सिजनमा उनले उपाधि हात पारे । गत वर्ष बायर्न लेभरकुसेनले बुन्डेस लिगाको उपाधि उचाल्यो । यस सिजनमा हेनले ला लिगासँगै गोल्डेन बुट पनि आफ्नो कब्जामा राखे । यस सिजनमा उनले २६ गोल गरेका छन् । लिगामा उनले ३४ मध्ये ३१ खेल खेले । बायर्न च्याम्पियन हुँदा ८२ अंक जोड्यो । दोस्रो स्थानमा रहेको लेभरकुसेनले मात्र ६९ अंक जोडेको छ । लेभरकुसेन गत वर्ष च्याम्पियन हुँदा ९० अंक जोडेको थियो ।
माटेओ रेटेगुई (एट्लान्टा) : २५ गोल
इटालीको सिरी ‘ए’मा माटेओका लागि यो सिसजन निकै फलदायी रह्यो । उनले लिगमा २५ गोल गर्दै गोल्डेन बुट जितेका छन् । इटालीबाट एक दर्जनभन्दा बढी खेल खेलेका छन् । उनी जेनोया हुँदै यस सिजन एटलान्टामा आबद्ध भएका हुन् । यो सिजन उनले ३८ मध्ये ३५ खेलमा प्रतिस्पर्धा गरे पनि टोलीलाई उपाधि दिलाउन सकेनन् । सिरी ‘ए’को विजेता नेपोली भयो । लिगको अन्तिम दिन साबिक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नेपोलीले उपाधि हात पारेको हो । नेपोलीले ३८ खेलमा ८२ अंक जोडेको थियो ।
मोहम्मद सलाह (लिभरपुल) : २९ गोल
लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि दुई साताअघि नै पक्का गरेको थियो । साबिक विजेता म्यानचेस्टर सिटीले लगातार नौ खेलमा जित निकाल्न नसकेको फाइदा लिभरपुलले भरपूर उठायो । आर्सनलले लिभरपुलमाथि सिजनको बिचमा दबाब नबनाएको होइन, तर अन्त्यतिर कमजोर प्रदर्शन हुँदा उपाधि जित्न आर्सनल असमर्थ रह्यो । लिभरपुलको उत्कृष्ट प्रदर्शनमा स्ट्राइकर मोहम्मद सलाहले नायक बने । उनले सिजनभर ३८ खेलमा २९ गोल गरेका छन् । सलाहले न्युक्यासलका एलेक्ज्यान्डर इसाकलाई पछि पारे । इसाकले सिजनमा २३ गोल गरे । सिटीका एर्लिङ हाल्यान्ड २२ गोलका साथ तेस्रो स्थानमा रहे ।
इजिप्टका ३२ वर्षीय अट्याकरले १८ असिस्ट गरेका थिए । तर, उनले युरोपियन च्याम्पियन्स लिगमा लिभरपुललाई अगाडि बढाउन सकेनन् । प्रिमियर लिगमा लिभरपुलले दोस्रो स्थानको आर्सनलविरुद्ध १० अंकको अग्रता बनायो । ३८ खेलबाट लिभरपुलको ८४ तथा आर्सनलको ७४ अंक रह्यो ।
ओस्माने डेम्बेले (पिएसजी) : २१ गोल
डेम्बेले फ्रेन्च लिग वानका गोल्डेन बुट विजेता हुन् । फ्रेन्च स्ट्राइकरले पिएसजीबाट २९ खेलमा २१ गोल गरे । उनले चोटका कारण लिगका नौ खेल खेल्न पाएनन् । फ्रेन्च लिगको उपाधि विजेता पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । लिग र च्याम्पियन्स लिगमा डेम्बेलेको प्रदर्शन उच्च छ । पिएसजीले उपाधि जित्दा दोस्रो स्थानको मार्सेलीभन्दा १९ अंक बढी जोड्यो । पिएसजीले ३८ मध्ये २६ खेल जित्दै ८४ अंक जोड्यो । मार्सेली ६५ अंकमै सीमित भयो ।