१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
शुक्रबार विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा कांग्रेस महामन्त्री गगन थापा
२o८२ जेठ १७ शनिबार o६:o८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शेखर–गगनबिचको संवादहीनता टुट्यो, ११ महिनापछि भयो छलफल

सरकारको कार्यसम्पादन कमजोर हुँदा कांग्रेसलाई घाटा भइरहेको र क्षति व्यहोर्नुपर्ने चिन्ता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार o६:o८:oo

कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिचको ११ महिनादेखिको संवादहीनता अन्त्य भएको छ । कोइराला भेट्न थापा शुक्रबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालय पुगे । यसअघि मन्त्री छनोट गर्दा (गत असार) भेट भएको थियो ।

शेखर र गगन बैठकको निष्कर्ष सौहार्दपूर्ण र सहकार्यमा अगाडि बढ्ने रहेको नेताहरूले बताएका छन् । पौने घण्टा छलफल भएको भेटमा पार्टी र सरकारको समीक्षा भएको भेटमा सहभागी सांसद सञ्जय गौतमले बताए । ‘राष्ट्रिय राजनीतिमा देखिएका घटनाक्रमहरूको विषयमा पनि छलफल गर्‍यौँ । यसले पार्ने प्रभावहरू र आउन सक्ने सम्भाव्य विषयमा पनि समीक्षा भयो,’ उनले भने ।

गौतमका अनुसार संसद् नै अवरुद्ध हुने गरी उठिरहेको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । ‘भिजिट भिसा प्रकरणबारे नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यो घटनाक्रम आउनु राम्रो भएन । पार्टीको छविका लागि पनि राम्रो होइन भन्ने उहाँहरूको धारणा थियो,’ गौतमले भने । बैठकमा बजेटको पनि समीक्षा भएको थियो । ‘सांसदहरूले मागेका योजना परे कि परेनन् भन्ने विषयमा कुराकानी भयो । यहाँनेर पार्टी र सरकारबिच ग्याप भयो भन्ने थियो,’ उनले भने ।

सरकारको अपजसको भारी कांग्रेसले पनि बोक्नुपर्ने भन्दै नेताहरूले सरकार प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरेका थिए । ‘कांग्रेस सरकारमा छ । यसको प्रभावकारिता भएन भने त सबैभन्दा धेरै घाटा कांग्रेसले व्यहोर्नुपर्छ भन्ने कुरा छ,’ गौतमले भने, ‘प्रभावकारिता बढाउनुपर्छ । असफल हुने छुट छैन, गल्ती गर्ने छुट छैन भन्ने कुरा भयो ।’

सांसद गौतमले शेखर र गगनको दूरी बढाउने प्रयास जारी रहेको, तर बैठकले सहकार्यको वातावरण बनेको बताए । ‘उहाँहरूबिच दूरी बढाउने प्रयास छ । शुभेच्छुकहरू दूरी नबढोस् भन्ने चाहनुहुन्छ । हामीले पनि तपाईंहरू सँगै जानुपर्छ भन्यौँ । त्यो किसिमको सौहार्दपूर्ण वातावरण बन्यो । सँगैसँगै मिलेर जाने कुरा छ,’ उनले भने ।

१४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार कोइरालाको टिमबाट महामन्त्री निर्वाचित थापा कांग्रेस–एमाले सरकार बनेपछि सभापति शेरबहादुर देउवासँग नजिकिएका थिए । गगन सरकार सञ्चालनमा सहजीकरण गर्न गठित कांग्रेस–एमाले संयन्त्रमै बसेपछि शेखरसँग दूरी बढेको थियो । शेखर संयन्त्रको विपक्षमा थिए । संयन्त्रमा बसेर गगनले सरकारको प्रतिरक्षा गर्दा शेखरले गलत कामको निरन्तर आलोचना गर्दै आएका थिए । गगन देउवा समूहबाट आफू सभापतिको दाबेदार हुने विश्वासमा थिए ।

तर, देउवाले बिपी पुत्र शशांकलाई अनौपचारिक, तर रणनीतिक रूपमा सात भाइ पूर्वपदाधिकारीको अभियानका रूपमा अगाडि सारेपछि गगन झस्किएका थिए । त्यसमा पनि पछिल्लो समय संयन्त्रमा आफ्नो कुरा सुनिन छाडेपछि गगनले पनि सरकारको आलोचना गर्न थालेका थिए । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन नहुने धारणा राख्दै आएका गगनलाई थाहै नदिई बर्खास्त गरेपछि उनी संयन्त्रको बैठकमा जान छाडेका थिए ।

शुक्रबार नै देउवासँग भेट
कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्यता समितिको संयोजक गगन थापाले शुक्रबार नै सभापति शेरबहादुर देउवासँग भेटेर पार्टीको अनुशासन समितिमा परेका उजुरी र क्रियाशील सदस्यता वितरण विवादबारे छलफल गरेका छन् । अनुशासन समितिमा थन्केर बसेका विषयलाई अघि बढाउने विषयमा सभापतिसँग पनि कुरा भएको सांसद सञ्जय गौतमले बताए । ‘अनुशासनको एउटै मापदण्ड बनाउने, समयसीमा असार १५ भित्र उजुरी टुंग्याउने, विधानसम्मत तरिकाले जाने निष्कर्ष छ,’ अनुशासन समिति सदस्य गौतमले भने । साथै, क्रियाशील सदस्यता वितरणमा देखिएको अप्ठ्यारो फुकाएर नवीकरणको प्रक्रियालाई गति दिने निर्णय पनि भएको उनले बताए ।

त्यसअघि कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा पनि अनुशासन समितिमा परेका उजुरी र क्रियाशील सदस्यता वितरण विवादबारे कुराकानी भएको थियो । अनुशासन समितिले एउटै मापदण्ड बनाएर उजुरी फस्र्योट गर्ने र क्रियाशील सदस्यता वितरण तथा नवीकरण विवादमा सहजीकरण गर्ने समझदारी भएको सांसद गौतमले बताए । यो समझदारीसँगै पार्टीको १५औँ महाधिवेशनको तयारी अगाडि बढ्ने बाटो खुलेको उनको भनाइ छ ।