
गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसंगीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन्। उनका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
‘यस वर्षको सम्मान तथा पुरस्कार गायक प्रधानकै जिल्लामा दिने तयारी छ। उनको सम्झनामा गीतसंगीतमा आफ्नो जीवन समर्पित गरेकालाई थोरै भए पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ,’ कोषाध्यक्ष मास्केले बताइन्। यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान– २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उनलाई सम्मानसँगै रु. एक लाख एक हजार नगद राशि प्रदान गरिनेछ ।
त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसंगीत सम्मान– २०८२’ बाट वरिष्ठ वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु. ५० हजार एक रहेको छ ।
यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिं घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत पुरस्कार–२०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु. २५ हजार एक रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिइन् । नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो ।