
एउटा गाउँमा एकजना ज्योतिषी बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिष ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे । उनी जहिल्यै तारातिर मात्र हेरिरहन्थे । जब आकाशमा तारा देखिन थाल्थे, तब उनी जहिल्यै हतारिँदै घरबाट बाहिर निस्कन्थे । उनी कहिलेकाहीँ त रातमा गाउँलेलाई चौरमा भेला गराएर उनीहरूको भविष्य फटाफट बताउन थाल्थे । कतिपय गाउँले उनको भविष्यवाणीमा विश्वास गर्थे भने कतिपयले चाहिँ पटक्कै विश्वास गर्दैनथे ।
एक साँझ खानपिनपछि ज्योतिष आफू सुत्ने कोठाको झ्यालबाट आकाशतिर हेर्दै थिए । उनी आकाशका ताराहरू देखेर दंग परिरहेका थिए । मनमनै सोच्दै पनि थिए– आहा ! कति सुन्दर तारा ! यी तारा हेरेर म कति सजिलै मानिसको भविष्य बताइदिन सक्छु । गम्भीर सोचमा डुबेका ज्योतिषले अचानक आकाशबाट एउटा तारा झरिरहेको देखे । झर्दै गरेको तारा देखेपछि उनी गाउँलेलाई बोलाउँदै घरबाहिर कुदे । आकाशबाट झर्दै गरेको तारा हेरेर कुदिरहेका ज्योतिष बाटोमा पर्ने छिमेकीको बारीबाटै चौरतिर लागे । तर, अचानक उनी छिमेकीले चर्पी बनाउन खनेको खाडलमा खसे । खाडल निकै गहिरो थियो । उनी बाहिर आउन सकेनन् । गाउँलेले डोरी खसालेर मुस्किलले तानिदिनुपर्यो ।
ज्योतिष खाडलमा खसेको थाहा पाएर त्यहाँ आइपुगेका गाउँले खासखुस गर्न थाले– दुनियाँको भविष्य बताइदिने धक्कु लगाउने पण्डित बाजेलाई आफ्नै वर्तमान त थाहा रहेनछ, यस्ताले अरूको भविष्य के बताउलान् !