१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
२o८२ जेठ १४ बुधबार o९:४१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार ल्याइँदै

कृषि, पर्यटन, शिक्षा र रोजगारी तथा भौतिक पूर्वाधार प्राथमिकतामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o९:४१:oo

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रम १४ गते बुधबार (आज) बागमती प्रदेश सभा बैठकमा प्रस्तुत गर्दै छ। यसका लागि मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृतसमेत गरेको छ। प्रदेशका विभिन्न मन्त्रालयहरूले तयार पारेको प्रारम्भिक नीति तथा कार्यक्रमलाई सरोकारवाला निकायहरूसँगको छलफलपछि अन्तिम रूप दिएर मंगलबारको मन्त्रिपरिषद् बैठकबाट पारित गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

उनले मन्त्रालयहरूले बजेटमै समेटिने गरी प्रभावकारी ढंगले नीति तथा कार्यक्रम तयार गरेको दाबी गरे । मन्त्रिपरिषदबाट स्वीकृत नीति तथा कार्यक्रम बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्ने कार्यतालिका रहेको पनि उनले बताए।

कृषि, पर्यटन, शिक्षा र रोजगारी, महिला सशक्तीकरण र भौतिक पूर्वाधार प्राथमिकतामा

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारी, महिला सशक्तीकरण र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता दिने भएको छ। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सरकारले भद्दा र नारा मात्रै समेटिएको नीति कार्यक्रमको विकल्पमा प्रभावकारी र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी तथ्यमा आधारित भएर नीति तथा कार्यक्रम ल्याउने दाबी गरे। 

प्रदेशका सबै स्थानीय तहलाई पक्की सडकले जोड्ने, हेटौँडा सहरलाई व्यवस्थित र स्मार्ट सहरको रूपमा विकास गर्ने, भौतिक पूर्वाधार विकासका कामलाई एकद्वार प्रणालीबाट गर्ने नीति सरकारको रहेको मुख्यमन्त्री लामाले जानकारी दिए। उनले सबै मन्त्रालयबाट हुने पूर्वाधार निर्माणको कामलाई व्यवस्थित गर्न एकद्वार नीति महत्त्वपूर्ण हुने भएकाले भौतिक विकासमा ‘एकद्वार प्रणाली’ अपनाइने बताए।

‘आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्न आयोजना बैंकको प्रभावकारी कार्यान्वयनमा सरकार अग्रसर रहेको छ। लगानी बोर्ड गठन तथा सञ्चालन गरी लगानी सम्मेलनका माध्यमबाट उद्यमी आकर्षित गर्ने सरकारको योजना छ,’ उनले भने, ‘दीर्घकालीन दायित्व सिर्जना गर्ने योजना तथा कार्यक्रमका विषयमा सरकार गम्भीर छ ।’

उच्च शिक्षा अध्ययनमा विशेष छात्रवृत्ति, कृषि यान्त्रीकरणमा जोड

प्रदेशलाई साक्षरतामा अग्रणी बनाउने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गर्ने, उच्च शिक्षा प्राप्तिका लागि विशेष छात्रवृत्ति कार्यक्रम, निःशुल्क शिक्षा, आधारभूत र माध्यमिक तहको शिक्षा निःशुल्क र अनिवार्य बनाउन सरकार अघि बढेको मुख्यमन्त्री लामाले बताए । कक्षा १२ सम्मका विद्यालयहरूमा स्वास्थ्य सेवाका लागि नर्सको व्यवस्थासहित समुदायस्तरसम्म एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्ने, विपन्न नागरिकका लागि क्यान्सर, हृदयघात, मस्तिष्कघातजस्ता रोगहरूको उपचारमा सहुलियत व्यवस्था प्रभावकारी बनाउने नीति सरकारको रहेको उनको भनाइ छ। 

सबै नीतिमा स्वास्थ्य नीति प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने, प्रदेशमा नै २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारको योजना नीति तथा कार्यक्रममार्फत आउने मुख्यमन्त्री लामाले बताए। उनका अनुसार सरकारले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक र यान्त्रीकरणमा जोड दिने गरी स्मार्ट एग्रिकल्चरको अवधारणा अघि सारेको बताए। ‘आधुनिक प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने, एक निर्वाचन क्षेत्र एक कृषि बजार निर्माण, एक निर्वाचन क्षेत्रमा प्रांगारिक मल उद्योग, उत्पादनमा आधारित अनुदान तथा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्ने सरकारको योजनामा रहेको छ,’ उनले भने।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा एकल अधिकार सूचीमा रहेका क्षेत्रमा काम गर्ने नीति लिएको मुख्यमन्त्री लामाले बताए। एकल अधिकार र कार्य विस्तृतीकरणबाट निर्धारित क्षेत्रमा रहेर कानुन निर्माण गरी कार्यान्वयनमा अघि बढ्ने सरकारको तयारी रहेको उनले बताए । प्रशासनिक सुस्तता हटाउन प्रदेश सरकारका संरचनागत सुधारका काम अघि बढाउने नीति लिएको मुख्यमन्त्री लामाको भनाइ छ।

प्रशासनिक चुस्ततासहित प्रदेशको विकासका लागि संरचनाहरूको पुनरावलोकन गर्न अध्ययन–अनुसन्धान गर्ने, विद्युतीय प्रणालीमा रूपान्तरण गरी प्रशासनिक चुस्तता कायम गर्ने, सेवा प्रवाह र कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउने सरकारको तयारी रहेको उनले बताए । उनले दोहोरो संरचना खारेज तथा मर्जरमा लाने र नयाँ संरचना निर्माणमा सरकार संयमित भएर लाग्ने बताए।

कर्मचारी अभिलेखलाई व्यवस्थापन गर्न सबै मन्त्रालय र स्थानीय तहलाई प्रयोग गर्न दिने नीति कार्यक्रम तयार भइरहेको उनले बताए। लैंगिक समानता तथा सामाजिक समावेशीकरण, मानव अधिकारका सवाल, सामाजिक संपरीक्षणका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने सरकारको तयारी रहेको उनको भनाइ छ ।

साना र टुक्रे योजनालाई न्यून प्राथमिकता

साना र टुक्रे योजनालाई न्यून प्राथमिकता रहने गरी माइलस्टोनसहितका आयोजनामा सरकार अघि बढ्ने उनले स्पष्ट पारे । गृहिणी महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गर्ने, सीप विकासलाई आर्थिक उपार्जनमा जोड्न प्रविधि हस्तान्तणका कार्यक्रमहरू अघि बढाउने सरकारको नीति रहने उनले दाबी गरे । तालिमलाई रोजगारीसँग जोड्न संरचनागत रूपमा समन्वय गर्ने तथा तालिम कार्यक्रममा दोहोरो पन हटाएर सीप परीक्षणको व्यवस्था प्रभावकारी बनाउने सरकारको योजना रहेको पनि मुख्यमन्त्री लामाले बताए ।

मुख्यमन्त्री लामाको सचिवालयका अनुसार सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू, पूर्वमुख्यमन्त्री, मन्त्री, सांसद र विभिन्न निकाय तथा संघसंस्थाहरूसँग सुझाव लिएर नीति तथा कार्यक्रम तयार पारेको छ। यसअघि प्रदेश सभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि संसद्को बुधबार र बिहीबार बसेको बैठकमा छलफल भएको थियो।