
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली अहिले एएफसी एसियन च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि तयारीमा जुटिरहेको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लाओससँग १० जुनमा प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियन म्याट रोसको मुख्य प्रशिक्षणमा खेलाडीले दशरथ रंगशालामा प्रशिक्षण गरिरहेका छन् । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको थियो । अब दोस्रो छनोट खेलमा फिफा वरीयतामा आफूभन्दा तल रहेको लाओसविरुद्ध जित निकाल्ने उद्देश्यका साथ प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ ।
मुख्य प्रशिक्षक रोसले पनि अवे खेलमा लाओसविरुद्ध जित निकाल्ने योजनाका साथ रणनीति बनाएका छन् । एसियन च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गर्नुअघि खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र अनुभव बटुल्नका लागि एन्फाले हङकङविरुद्ध मैत्रीपूर्ण खेलको प्रबन्ध मिलाएको छ । नेपालले आधिकारिक रूपमा हङकङको राष्ट्रिय फुटबल टोलीविरुद्ध ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । तथ्यांकअनुसार नेपाल र हङकङबिच एकपटक मात्र खेल भएको छ । सन् १९८८ को एसिया कपमा यी दुई टोलीबिचको अन्तर्राष्ट्रिय खेल गोलरहित बराबरीमा सकिएको थियो ।
लाओससँग अपराजित नेपाल
एसियन च्याम्पियनसिपको प्रतिद्वन्द्वी लाओसविरुद्ध नेपालले अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गरिसकेको छ । तथ्यांकअनुसार नेपालले लाओसविरुद्धको खेल गुमाएको छैन । नेपालले लाओसमाथि तीनपटक जित निकालेको छ । लाओसले नेपाललाई तीनपटक बराबरीमा रोकेको छ । सन् २०१६ को मेमा यी दुई टोलीबिच पहिलोपटक अन्तर्राष्ट्रिय खेल भएको थियो । जसमा १–१ को बराबरी नतिजा निस्कियो । सोही वर्ष एएफसी सोलिडारिटी कपमा नेपाललाई लाओसले २–२ को बरबरीमा रोक्यो । दुई वर्ष भएको अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसमाथि क्रमशः २–० र २–१ ले जित निकालेको थियो । फिफा वरीयतमा लाओस १९०औँ स्थानमा छ । नेपालको तुलनामा लाओस १५ स्थान तल रहेको छ ।
वरीयतामा हङकङ २२ स्थान माथि
एसिया कपपछि नेपाल र हङकङबिच खेल भएको छैन । पछिल्लो फिफा वरीयतामा हङकङ १५३ र नेपाल १७५औँ स्थानमा रहेका छन् । नेपालको तुलनामा हङकङ २२ स्थान माथि रहेको छ । आफूभन्दा माथिल्लो स्तरसँगको विपक्षीविरुद्ध प्रतिस्पर्धा गर्दा खेलाडीले एक्सपोजर प्राप्त गर्ने एन्फाको भनाइ छ । साढे तीन दशकपछि हङकङविरुद्धको मैत्रीपूर्ण र लाओससँग खेलमा राम्रो नतिजा निकाल्न खेलाडीले अहिले दैनिक दुईपटक दशरथ रंगशालामा प्रशिक्षण गरिरहेका छन् । उनीहरूले दैनिक बिहान र बेलुका प्रशिक्षण गरिरहेको एन्फाले जनाएको छ ।
‘अहिले खेलाडीहरूले दैनिक बिहान र बेलुका प्रशिक्षण गरिरहेका छन्,’ एन्फाले भन्यो, ‘हामी मैत्रीपूर्ण र अवे खेलमा लाओसविरुद्ध जित निकाल्ने उद्देश्यका साथ तयारीमा छौँ ।’ हङकङ र नेपालबिचको खेल फिफा डेमा रहेको छ । यस खेलमा जस्तो नतिजा आए पनि वरीयता अंक दुवै टोलीले प्राप्त गर्नेछन् । जितले नेपालले फिफा वरीयतामा केही स्थान सुधार गर्न सक्छ ।
मनोबल वृद्धिको रणनीति
एन्फाले मैत्रीपूर्ण र छनोट खेलअघि खेलाडीको मनोबल वृद्धि गर्ने लक्ष्य राखेको छ । यी दुई पक्षमा केन्द्रित रहेर खेलाडीलाई मुख्य प्रशिक्षक रोसले प्रशिक्षण गराइरहेका छन् । अहिले क्लोज क्याम्पमा २५ जना खेलाडी छन् । क्लोज क्याम्पपछि नेपाली टोलीको घोषणा हुनेछ । छनोट खेलका लागि अन्तिम चरण तयारीमा रहेका खेलाडीले फ्रेसनेस प्रशिक्षण पाएका छन् । एसियन छनोटको समूह ‘एफ’को पहिलो खेलमा नेपाल मलेसियासँग १–० ले पराजित भएको थियो । नेपालले अहिलेसम्म एसियन कपमा स्थान बनाएको छैन । एसियन फुटबल महासंघ (एएफसी)ले यसपटक छनोट खेलमा सहभागी राष्ट्रहरूलाई ६ समूहमा विभाजन गरेको छ ।