
भिजिट भिसामा हुने असुलीमा गृहमन्त्री रमेश लेखक मुछिएपछि चौतर्फी उनको राजीनामा माग भइरहेको छ । तर, गृहमन्त्रीले राजीनामा नदिने बताइरहेका छन् । यस्तो गम्भीर आरोप लागेपछि नैतिक रूपमा पदमा बसिरहन मिल्छ?
यस प्रकरणमा गृहमन्त्रीले कैयौँ गलत निर्णय लिएको त प्रमाणित भइसकेको छ । उहाँले त्यति महत्वपूर्ण ठाउँमा गलत चरित्र भएको मानिस पठाउनुभयो । विगतमा अनुसन्धानले खोट देखाएका मानिसलाई आफ्नो सचिवालयमा तान्नुभएको छ । अनि, अहिले आएर आफूलाई केही थाहा नभएको बताउँदै हिँडिरहनु भएको छ । यस प्रकरणमा मन्त्रालय तहबाट गोलमाल भएको छ भन्ने शंका गर्ने ठाउँ धेरै छ । शंका उठिसकेपछि अनुसन्धानलाई सहज बनाउन राजीनामा आउनुपर्ने हो ।
यस मुद्दामा लेखक पदमै रहँदा अनुसन्धान प्रभावित हुने सम्भावना कत्तिको हुन्छ ?
धेरै नै हुन्छ । किनकि त्यति शक्तिशाली पदबाट दबाबका कुरा आउँछ । त्यस्तोमा, अनुसन्धानमाथि नै प्रश्न उठ्नेछ ।
अध्यागमनको जिम्मा सबै कर्मचारीलाई दिइँदा प्रहरी त्यति खुसी छैन भनिन्छ ।
खासमा यस्तो असन्तुष्टि किन देखिएको हो ?
विमानस्थल देशको सुरक्षा र प्रतिष्ठासँग जोडिएको ठाउँ हो । तर, त्यहाँ भइरहेका कतिपय काम प्रहरीलाई जानकारी नहुने अवस्था छ । जबकि, भोलि केही नराम्रो घटना भयो भने दोषचाहिँ प्रहरीमाथि आउँछ । त्यहाँबाट अपराधी आउनेजाने भइरहेको हुन सक्छ । आतंकवादीसमेतको आवागमन हुनसक्ने ठाउँ हो । तर, प्रहरी र कर्मचारीको त्यहाँ राम्रो समन्वय छैन । अब कर्मचारीलाई त्यहाँ प्राथमिकतामा दिनुपछाडि राजनीतिक स्वार्थ हुन सक्छ । कतिपय अवस्थामा खराब काम गर्नेहरूले पनि राजनीतिक संरक्षण पाइरहेको कुराले पनि त्यसै कुराको संकेत गर्छ । तर, विमानस्थलको सुरक्षा व्यवस्था र कुरीति हटाउने हो भने अहिलेको यो एरेन्जमेन्ट नबदली हुँदैन ।