
घटना १ : २ माघ ०७६ मा थानकोट बस्दै आएका ३५ वर्षीय विनय लामिछानेपत्नी जमुना रेग्मी लामिछाने र दुई वर्ष तथा ६ महिनाका दुई छोरासहित धादिङको बेनीघाट पुगेर त्रिशूलीमा हेलिए । विनयलाई प्रहरीले उद्धार गरे पनि बाँकी अन्य तीनको भने ज्यान जोगाउन सकिएन । उनीहरूको डेराबाट बरामद सुसाइड नोटमा ऋण धेरै भएको, तर तिर्न नसक्ने अवस्था आएपछि आत्महत्या गर्ने निष्कर्षमा आफूहरू पुगेको उल्लेख छ ।
घटना २ : २५ फागुनमा दैलेखकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णालीमा हामफालिन् । जसमा १५, १२ र सात वर्षीया तीन छोरी र १० वर्षका एक छोरासमेत सुकीको समेत ज्यान गयो । श्रीमान् मादक पदार्थ सेवन गरेर पैसा मास्ने, झगडा गर्ने र पारिवारिक विवादजस्ता कारणले दिक्क भएर उनले यस्तो निर्णय लिएको सुकीका माइतीले बताएका थिए ।
घटना ३ : ८ वैशाख ०८२ मा धनुषाको सहिदनगर बस्ने २५ वर्षीया बबिताकुमारी साहले आठ वर्षीया छोरा, पाँच तथा तीन वर्षीया छोरीहरूका साथै आफैँ पनि विष सेवन गरिन् । छोराछोरीको अस्पताल पुर्याउनुअगाडि नै मृत्यु भयो भने साहको गर्भबाट छोरालाई शल्यक्रिया गरी निकालिए पनि आमाको ज्यान बचाउन सकिएको थिएन ।
नेपालमा पछिल्लो समय सामूहिक आत्महत्या बढ्दै गएको छ । तर, यस विषयमा स्पष्ट कानुन नहुँदा घटनैपिच्छे अभियोजन फरक हुने गरेको कानुनका जानकारहरू बताउँछन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका पूर्वजिल्ला न्यायाधिवक्ता गंगाप्रसाद पौडेल यस्ता घटनापिच्छे विवेक प्रयोग गरी सरकारी वकिलले अभियोजन गर्ने गरेको बताउँछन् । उपचार गरेर बल्ल बाँचेको र परस्पर सहमतिमा भएको आत्महत्याका घटनामा बाँचेका मान्छेलाई कम सजाय मागेर कर्तव्य ज्यानमा मुद्दा लाने गरेको उनको भनाइ छ । ‘अर्कोचाहिँ आत्महत्या दुरुत्साहनमा पनि लाने गरेका छौँ । ठ्याक्कै योचाहिँ सम्बोधन गर्ने कानुन हामीसँग छैन । यसका लागि लबिङ भने भइरहेको छ,’ उनले भने ।
सरकारी वकीलले प्रहरीको अनुसन्धान र मनसाय हेरेर मुद्दा चलाउने गरेका छन् । १८ जेठ ०८० मा हेटौँडा उपमहानगरपालिका– १५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले आफू साथै दुई छोराहरू सात वर्षीय अस्किन र डेढ वर्षका जेनिस वाइबालाई विष खुवाइन् । उनको कान्छाछोराको भोलिपल्टै मृत्यु भयो । दुईजना भने बाँचे । विष खुवाएकाले आमालाई ज्यान मुद्दा लाग्यो र सजाय तोकियो । मकवानपुर सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार यस घटनामा बाँचेकी आमालाई कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएको छ । ‘बच्चा अपांगता रहेछ । त्यसैले उनले मार्नै खोजेको र आफूले कम विष खाएजस्तो देखिएको थियो । त्यसैले सजाय पनि भयो,’ मुद्दामा संलग्न एक अधिकृत भन्छन् ।
यसैगरी, कर्णालीमा बालबालिकासहित पाँचजनाले हामफालेर गरेको सामूहिक आत्महत्याको घटनामा भने सुकीका श्रीमान् मानसिंह बडुवाललाई जिल्ला अदालत दैलेखले आत्महत्या दुरुत्साहन कसुरमा दोषी ठहर गरेको थियो । घटनाको एक वर्षपछि नै ०७८ फागुनमा चार छोराछोरीसहित श्रीमतीलाई पनि आत्महत्या गर्न बाध्य बनाएको भन्दै डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो । हालसम्म यसरी अभियोजनमा कठिनाइ हुने गरेकोमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसको सम्बोधनका लागि कानुनी प्रावधान थप्न लागेको छ । संयुक्त रूपमा गरिने आत्महत्या अर्थात् ‘सुसाइड प्याक्ट’का विषयमा स्पष्ट कानुनी व्याख्या नहुँदा यस्ता घटनामा अनुसन्धान, अभियोजन र फैसला दिन अदालतलाई कठिनाइ हुने गरेकोमा मन्त्रालयले छुट्टै व्यवस्था ल्याउन लागेको हो ।
मुलुकी अपराध संहिताको संशोधनका लागि प्रस्तावित मस्यौदाले आत्महत्या दुरुत्साहनलाई अझै स्पष्ट पारेको छ भने सुसाइड प्याक्टको विषय पनि सोही दफामा थपेको छ । मस्यौदाअनुसार संहिताको दफा १८५ मा रहेको ‘आत्महत्या दुरुत्साहन’लाई परिभाषित गरिएको छ । यसैको उपदफा (२)मा भनिएको छ, ‘कसैले परस्पर सहमतिमा सामूहिक रूपमा आत्महत्या गर्ने वा एकले अर्कोलाई मार्ने कार्य गर्न वा गराउन हुँदैन ।’ साथै, उपदफा (४)मा भनिएको छ, ‘उपदफा (२)बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यसरी कसैको ज्यान गएको रहेछ भने दुरुत्साहन गर्नेलाई पाँचदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था गर्न लागिएको छ ।
फौजदारी कानुनका जानकार अधिवक्ता डा. सुवास आचार्य यसअघि गोश्वारा र अस्पष्ट रूपमा कानुनमा सुसाइड प्याक्टको विषय समेटिएको भए पनि प्रस्तावित संशोधनले कानुनी रिक्तता पूरा गरेको बताउँछन् । ‘यसले केही हदसम्म त्यो रिक्तता पूरा गरेको त देखियो । यसलाई समयसापेक्ष कानुनको संशोधन मान्नुपर्छ,’ उनले भने । यद्यपि, दुरुत्साहनको घटनामा भने अझै पनि यो संशोधन पर्याप्त नभएको र हाल न्यायसम्पादनमा आइरहेको समस्या सम्बोधन नगर्ने अधिवक्ता आचार्यको बुझाइ छ । उनको भनाइमा दुरुत्साहनलाई स्पष्ट पार्ने गरी थुप्रै विषय अहिलेको संशोधन प्रस्तावमा छैन । दुरुत्साहनको विषयमा सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने केही मुद्दाहरू हाल विचाराधीन नै रहेको उनले बताए ।
कानुन बनाउन तीन वर्षअघि ध्यानाकर्षण
यस विषयमा सर्वोच्च अदालतले २९ असार ०७८ मै आदेश गरेको थियो । सर्वोच्चको संयुक्त इजलासले यस सम्बन्धमा कानुन बनाउन कानुन मन्त्रालयको ध्यानाकर्षणसमेत गराएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले विष सेवन गराई मृत्यु (कर्तव्य ज्यान)को मुद्दामा अनुसन्धान गर्ने निकाय नेपाल प्रहरी र अभियोजन गर्ने सरकारी वकिललाई समेत अभियोजन सम्बन्धमा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
‘सोझासीधा मान्छेहरूलाई परिबन्दमा पारी आत्महत्या गर्न उक्साउने वा संयुक्त रूपमा मिलेर गरिने आत्महत्याको नाममा अर्को व्यक्तिलाई मर्न लगाई आफूले आत्महत्या गर्न खोजेको नाटक गर्ने कार्यलाई निरुत्साहित गरी दण्डित गर्नुपर्ने भए तापनि संयुक्त रूपमा मिलेर गरिने आत्महत्याको कसुर परिभाषित भई सजाय निर्धारण गरेको हालको प्रचलित कानुनमा नदेखिएको हुँदा फौजदारी कानुनमा यस्तो अपराधको परिभाषा र सजायको रिक्तता पूरा गर्ने कार्य कार्यपालिका र व्यवस्थापिकाको देखिँदा सो सम्बन्धमा कानुन मन्त्रालयलाई ध्यानाकर्षण गराउनुका साथै संयुक्त रूपमा मिलेर गरिने आत्महत्याजस्तो देखिने प्रकृतिको वारदातमा निम्न पक्षलाई समेत ध्यान दिई अनुसन्धान गरी अभियोग गर्न अनुसन्धानकर्ता नेपाल प्रहरी र अभियोजनकर्ता महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिललाई निम्नबमोजिमको निर्देशनात्मक आदेश जारी गरिदिएको छ,’ फैसलामा छ । संयुक्त रूपमा आत्महत्या गर्दा बाँच्ने व्यक्तिले आफ्नो मृत्यु हुनेसमेतको कार्य गरे नगरेको, तेस्रो पक्षको उपस्थिति भए नभएको, भए निजको जीवन बाँच्न सम्भव थियो थिएन र आत्महत्या गर्दा गर्न खोजिएको कार्य समानुपातिक थियो वा थिएनजस्ता विषयमा अनुसन्धान हुनुपर्ने फैसलामा छ । यसैगरी, बाँचेका व्यक्तिलाई अरू कसैले उक्साएको, घटनापछि बाँचेका व्यक्तिको मानसिक अवस्था, बाँचेका व्यक्तिलाई आत्महत्या गरिसकेका अर्का व्यक्तिको मृत्युबाट लाभ हुने थियो कि थिएन र मृतक कुनै प्रकारको हिंसाको सिकार भए नभएजस्ता विषयमा अनुसन्धानकेन्द्रित हुनुपर्ने न्यायाधीशद्वयको राय छ । खगेन्द्र नेपालीविरुद्ध नेपाल सरकार रहेको मुद्दामा उक्त आदेश भएको हो ।
यस्तो थियो लीला र खगेन्द्रले विष सेवन गरेको घटना
१५ वैशाख ०७१ मा सुर्खेतको तत्कालीन उत्तरगंगा गाविसस्थित जंगलमा १४ वर्षीया लीला रोकायाले विष सेवन गरी आत्महत्या गरेको अवस्थामा शव भेटिएको थियो । नजिकै ३३ वर्षीय खगेन्द्र नेपालीको मुखबाट फिँज आइरहेको थियो । उनी छट्पटाइरहेको अचेत अवस्थामा थिए । तुरुन्तै अस्पताल पुर्याउँदा उनको ज्यान जोगियो । तर, जिल्ला अदालत सुर्खेतले नेपालीलाई पाँच वर्ष कैद सजाय सुनायो । नेपालीले भने आफू दुईबिच प्रेम रहेको, तर आफू घरबारे भएका कारण लीलासँग विवाह गर्न नसक्ने र अर्कोतिर लीलाको पनि विवाह गरिदिने कुरा उनको घरबाट भएपछि दुवैले सँगै आत्महत्या गर्न चाहेको अदालतलाई बताएका थिए । आफूले मर्नैका लागि विष सेवन गरे पनि अस्पताल पुर्याइएकाले बाँचेको नेपालीको जिकिर थियो । यस मुद्दामा उच्च अदालतले लीलाले बढी र खगेन्द्रले कम विष सेवन गरेको भन्दै कैदलाई १० वर्ष पुर्याएको थियो । अन्तिममा सर्वोच्चले भने सफाइ दिएको थियो । दुवैबिच प्रेम सम्बन्ध रहेको पुष्टि भएको, दुवैले सँगै विष खाएको, मृतककी बहिनीले आफैँ विष ल्याएको भनी कागज गरेको, लीलालाई विष खुवाएर मार्नुपर्नेसम्मको कारण खगेन्द्रसँग नरहेको जस्ता कारणले सर्वोच्चले सफाइ दिएको थियो । अस्पतालमा उपचार गराएकै कारण खगेन्द्रको ज्यान जोगिएको निष्कर्ष अदालतको थियो ।
प्रहरी अध्ययनले भन्छ– साधारण लेखपढ गर्नेले बढी आत्महत्या गर्छन्
नेपाल प्रहरीको अध्ययनअनुसार सबैभन्दा बढी आत्महत्या गर्नेमा साधारण लेखपढ गर्न जान्नेहरू छन् । आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन, २०८१ अनुसार आत्महत्या गर्नेमा ६३.१ प्रतिशत साधारण लेखपढ गर्न जान्ने थिए ।
प्रहरीका अनुसार प्रतिवेदनका लागि प्रत्येक प्रदेशका दुई–दुई गरी १४ जिल्लामा अध्ययन गरिएको थियो । दुई वर्षको तथ्यांक अध्ययन गर्दा आत्महत्या गर्ने पुरुषको संख्या बढी रहेको देखिएको थियो भने बालिकाहरूले बालकभन्दा बढी आत्महत्या गर्ने गरेको भेटिएको छ ।
यसैगरी, १८ देखि २५ वर्षका उमेर समूहकाले सबैभन्दा बढी आत्महत्या गर्ने गरेको देखिएको छ । अझै बालबालिकाले समेत यस्तो कार्य गर्ने देखिएको र १५ प्रतिशतले आत्महत्या गरेको अध्ययनले देखाएको छ । प्रहरीले पेसागत आधारमा वर्गीकरण गर्दा सबैभन्दा बढी ४६ प्रतिशत किसान र त्यसपछि विद्यार्थी १५.४ प्रतिशत तथा त्यसपछि गृहिणीहरूले आत्महत्या गरेको पाइएको छ ।
यसैगरी, जातिगत तथा समुदायगत हिसाबले हेर्दा आत्महत्या गर्नेमा आदिवासी जनजाति समुदायका ३९ प्रतिशत रहेको पाइएको छ । अध्ययनअनुसार करिब ६७ प्रतिशत मान्छेमा मानसिक रोग रहेको तथा मानसिक तनाव रहेको देखिएको छ । अन्य कारणमा क्रमशः प्रेम सम्बन्धित, आर्थिक समस्या, दीर्घरोग, लागुपदार्थ तथा मादकपदार्थ सेवनलगायत छन् ।