
सनराइजर्स हैदराबादले शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा प्ले अफ स्थान पक्का गरिसकेको रोयल्स च्यालेन्जर्स बेंग्लोरलाई ४२ रनले हराएको छ । लखनउको मैदानमा पहिलो ब्याटिङ गरेको हैदरबादले ६ विकेट गुमाएर दुई सय ३१ रन बनाएको थियो ।
प्रत्युत्तरमा बेंग्लोरले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ८९ रन मात्र जोड्यो । हारसँगै बेंग्लोर १७ अंकका साथ तेस्रो स्थानमा झरेको छ । पन्जाब किंग्सले पनि समान १७ अंक जोडे पनि रनरेटका आधारमा दोस्रो स्थानमा उक्लियो । बेंग्लोरले अन्तिम दुई ओभरमा १० रन जोड्दा चार विकेट गुमाएको थियो ।
यसअघि ब्याटिङ गरेको बेंग्लोरले पनि पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी पाएको थियो । विराट कोहली र फिल साल्टले ४३ बलमा ८० रन जोडेका थिए । साल्ट र मायांक अग्रवालबिच तेस्रो विकेटका लागि २२ बलमा ४० रनको साझेदारी भएको थियो । जितेश शर्मा र रजतले चौथो विकेटका लागि २६ बलमा ४४ रनको साझेदारी गर्दै बेंग्लोरलाई जितको आशा दिलाएका थिए ।
कोहलीले २५ बलमा ४३ रन तथा फिलले ३२ बलमा ६२ रन बनाए । जितेशले १५ बलमा २४ रन जोडे ।
शतक बनाउन चुके ईशान
पहिलो ब्याटिङ गरेको सनराइजर्स हैदराबादका ईशान किसन शतकीय इनिङ्स खेल्न चुकेका छन् । बेंग्लोरविरुद्ध अन्तिमसम्म नटआउट रहेका ईशानले ९४ रनको योगदान दिए । उनले ४८ बलमा सात चौका र पाँच छक्का प्रहार गरेका थिए । हैदराबादले पहिलो विकेटका लागि अभिषेक शर्मा र टेभिस हेडले ५४ रनको साझेदारी गरेका थिए । अभिषेक र हेड तीन बलको अन्तरमा आउट भएका थिए ।
अभिषेकले १७ बलमा समान तीन चौका र छक्का प्रहार गरी ३४ रन जोडेका थिए । हेडले १० बलमा तीन चौकाको सहयोगमा १७ रन बनाए । त्यसपछि ईशानले लगातार सात विकेटसम्म साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा राखे । हैदराबादका हेनरिक क्लासेनले १३ बलमा समान दुई चौका र छक्का प्रहार गरी २४ रनको योगदान दिए । अनिकेत वर्माले नौ बलमा २६ रन बनाए । बलिङमा रोमारियोले १४ रन खर्चेर दुई विकेट हात पारे ।
हैदराबादका लागि क्लासेन र ईशानबिच तेस्रो विकेटका लागि २७ बलमा ४८ रन साझेदारी भएको थियो । ईशानले वर्मासँग चौथो विकेटका लागि १७ बलमा ४३ रन जोडेका थिए । यसैगरी, उनले प्याट कुमिन्ससँग सातौँ विकेटका लागि १८ बलमा ४३ रनको साझेदारी गरे ।