१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
रासस काठमाडौं
Invalid date format १५:१५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आजदेखि प्रदर्शनमा ‘नरसिंहा अवतार’, आठ वर्षपछि हमालको कमब्याक

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन्। उनले अभिनय गरेका चलचित्र ‘नरसिंहा अवतार’ आज शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको हमालले बताए।

‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिए। तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ। यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेकोजस्तो भूमिका पाएँ। चलचित्रको विषयवस्तु, मसुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठुलो पर्दामा पुनः आएँ,’ हमालले भने।

हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्तबुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठुलो पर्दामा नदेखिएको स्पष्ट पारे। विशेषतः उनले अभिनय गरेका दुई चलचित्र ‘बागमती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला–महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त थिए।

‘कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले मेकिङमा त्यो गुणस्तर पाइनँ। त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ। यसपटक सबैले मिहिनेत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु,’ उनले भने।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए। ‘अभिनेता हमालको फ्यानका बारेमा मैले बोल्नैपर्दैन। उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु। हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै पात्रलाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु,’ निर्देशक भट्टराईले भने।

चलचित्रमा हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बालकलाकारहरू एभेलिना खड्का, समाइरा थापालगायतले अभिनय गरेका छन्।

चलचित्र ‘नरसिंहा अवतार’ले नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएको छ। नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रूपमा निर्माण गरेका हुन्।