
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम १४ जेठमा आउने भएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सो दिन दिउँसो १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सभामुख पाठकले सम्पूर्ण प्रदेश सभाका सदस्यहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन रुलिङसमेत गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइने बताए ।
यसअघि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको मंगलबारको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठेको प्रश्नको जवाफ दिएका छन् ।
उनले चालू खर्चमा कटौती र पुँजीगत खर्चमा वृद्धि गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशको स्रोत र साधनको यथोचित उपयोग गर्दै जनतामा रहेका निराशा चिर्दै आशाको सञ्चार गर्न प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उनले बजेट तर्जुमाका क्रममा सांसदबाट प्राप्त सुझावलाई समेत समेटिने विश्वास दिलाए ।